काठमाडौं । काठमाडौंको सुकेधारास्थित ब्राइट ओेसन ओभरसिज प्रा.लि. म्यानपावरले भनेको समयमै विदेश पठाइदिने भन्दै युवाहरुबाट लाखौं रुपैयाँ ठगी गरेको पाइएको छ ।

पीडितहरूका अनुसार उक्त म्यानपावरले मकाउमा रोजगारीका अवसरका लागि युवाहरूसँग अन्तर्वार्ता लिइ ‘पास भयौँ’ भन्दै स्वास्थ्य परीक्षणसम्म गराएको र त्यसपछि करिब ३ लाखदेखि ६ लाख रुपैयाँसम्म असुल गरेको खुलेको हो । तर, पैसा लिएर पनि न रोजगारका लागि पठाइयो, न त रकम फिर्ता गरियो ।
ब्राइट ओेसन ओभरसिज म्यानपावरबाट पीडित रामेछाप जिल्लाका अन्जित थापा, नुवाकोटका मनोज लुइँटेल, कैलालीका खम्म ठकुल्ला, तनहुँका सुमन गुरुङ, सल्यानका सञ्जय कुमार थापा, भूपेन्द्र बहादुर थापा, सुर्खेतका गोविन्द बुढा, धनकुटाका पासाङ तामाङ लगायतका युवाहरु ठगिएका हुन । यी पीडितहरूले मात्र करिब ३० लाख रुपैयाँ सो म्यानपावर कम्पनीले असुल गरेको बताएका छन् ।
युवाहरुलाई विदेश पठाउने नाममा ठगि धन्दा चलाइरहेको पीडितहरूले बताएका छन् । मकाउ पठाउँछु भन्दै ब्राइट ओेसन ओभरसिज मेनपावरका संञ्चालकले वैदेशिक रोजगारीका नाममा करिब दर्जनौं नेपाली युवालाई बिगत तीन वर्ष अगाडि देखि नै ठगी गर्दै आइरहेको खुलेको हो ।
पीडितहरु भन्छन्, ‘काम नहुने भएपछि हामीले पैसा माग्न गयौं । तर मेनपावर सञ्चालकले हरेक पटक बहाना बनाएर समय टार्छन् । कहिले भोलि आउनू भन्छन्, कहिले पर्सि ।’
पीडितहरूले अहिले सरकारी निकायसँग न्यायका लागि अपिल गर्ने तयारी गरिरहेका छन् । उनीहरूले सम्बन्धित निकायहरू वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय र प्रहरी प्रशासनसँग उक्त मेनपावरका संचालक र ठगी कार्यमा संलग्न सबैलाई कानुनी दायारामा ल्याउनका लागि छानबिनको माग गर्ने बताएका छन् ।










