काठमाडौं । विघटित नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वप्रेस सल्लाहकार ओम शर्माले पार्टी परित्याग गरेका छन् ।

शर्मा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार बनेका थिए। पछिल्लो समय उनी पार्टीको एसिया प्रवास संगठन समिति इन्चार्ज थिए ।
शर्मासँगै केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया संगठन समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, नेपाली प्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर, र मञ्च अष्ट्रेलियाका महासचिव ई। प्रतिक पोखरेलले पनि पार्टी त्यागेका छन् ।
पार्टी परित्याग गर्ने नेताहरूले विज्ञप्ति जारी गर्दै प्रचण्डको नेतृत्व र जीवनशैली कम्युनिष्ट सिद्धान्तविपरीत रहेको आरोप लगाएका छन् । ‘नेतृत्वको जीवनशैली कम्युनिष्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्ट आन्दोलनको नैतिक धरातल कमजोर भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
शर्मा र उनका सहकर्मीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा माओवादी आन्दोलनलाई विलय गरिएको भन्दै कुनै सम्बन्ध नराख्ने घोषणा गरेका छन् ।











