
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको गत सिजन उपविजेतामा सीमित रहेको सुदूरपश्चिम रोयल्स यसपटक भने ट्रफी जित्ने लक्ष्यमा रहेको छ । रोयल्सलाई ट्रफी जिताउनमा विदेशी खेलाडी मुख्य हतियार बन्ने छन् । गत सिजनमा सुरुवाती चरणमा कमजोर आँकिएको सुदूरपश्चिमले सनसनी मच्चाउँदै फाइनमा पुगेको थियो ।
समूह चरणमा दुई पटक हराएको जनकपूर बोल्ट्ससँग फाइनलमा पराजित हुँदा सुदूरपश्चिमका फ्यान र खेलाडी दुवैलाई निराश बनाएको थियो । फाइनलमा राम्रो सुरुवात गरेको रोयल्सले जनकपूरलाई १८४ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा बोल्ट्सले निर्धारित २० ओभरको खेलमा ४ बल बाँकी छदै भेट्टाएको थियो । बोल्ट्सले पहिलो सिजनको ट्रफी जित्दै इतिहास रचेको थियो ।
पहिलो सिजनमानै जितको नजिक पुगेको रोयल्स यसपटक भने निकै बलियो देखिएको छ । सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी हुन् । उनी सुदूरका स्थानीय खेलाडी पनि हुन् । सुदूरपश्चिममा आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, विनोद भण्डारी,मिलन बोहोरा, नरेन साउद, दिपक बोहोरा, टेक रावत, हेमन्त धामी र दीपेन्द्र थापा रहेका छन् । गत सिजन जनकपूरबाट खेलेका धामी यस पटक भने घरेलु टोली रोयल्समा भित्रिएका छन् ।
गत सिजनका तिन विदेशी खेलाडी रिलिज गरेको रोयल्सले यसपटक नयाँ दुई विदेशी खेलाडीलाई टोलीमा भित्र्याएको छ । गत सिजनका सैफ जैब, रोहन मुस्तफ र ब्रान्डन म्याकमुलेनलाई रिलीज गरेको हो । तिन खेलाडीलाई रिलिज गरेर रोयल्सले यसपटक हार्डहिटर विदेशी खेलाडीलाई टोलीमा भित्र्याएको छ । उसले दोस्रो सिजनका लागि अष्ट्रेलियाका दुई खेलाडीलाई टोलीमा भित्र्याएको हो । क्रिस लेन र जोस ब्यारोनलाई टोलीमा भित्र्याएको हो । बाँकी स्कट कुगेलेइजन र हरमित सिंहलाई निरन्तरता दिएको हो ।
गत सिजनमा रोयल्समा रहेका विदेशी खेलाडीहरू भन्दा यसपटक अनुबन्ध भएका लेन र ब्यारोन टि २० खेलका लागि आफूलाई विश्वका विभिन्न लिगहरूमा पनि अब्बल साबित गरिसकेका खेलाडी हुन् । लेन विश्वकै चर्चित लिग मानिने इन्डियन प्रिमियर लिन आइपील समेत खेलिसकेका खेलाडी हुन् । उनले २०१७, २०१८, २०१९,२०२१ मा आइपीएल खेलेका थिए । उनले ती सबै सिजनमा आफूलाई अब्बल ब्याटरको रूपमा प्रस्तुत गरेका थिए । उनले टि-२० करिअरमा ८५२६ रन बनाएका छन् । उनले स्टाइक रेट १४४ रहेको छ । यसै बाट थाहा हुन्छ उनी कति आक्रामक ब्याटर हुन् ।
लिनले आइपीएल, बीबीएल, सिपीएल, एलपीएल, आइएलटी र सिएलटीमा आफ्नो ब्याटिङ देखाई सकेका छन् । लिन सुदूरपश्चिममा जोडिनु संयोग आइएलटीबाट जुरेको हो । उनी र रोर्यल्सका मार्की खेलाडी दीपेन्द्रले एउटै टिम मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । २०२३ को सिजनमा उसले ट्रफि पनि जितेको थियो । लिन मोन्ट्रियल टाइगर्सका कप्तान थिए । लिन एउटा ब्याटर मात्रै नभएर सफल कप्तान पनि हुन् ।
अर्का अष्ट्रेलिएन अलराउन्डर खेलाडी ब्यारोन पनि विश्वका विभिन्न लिगहरूमा आफूलाई अब्बल खेलाडीको रूपमा प्रस्तुत गरिसकेका खेलाडी हुन् । उनी मुख्यतः बीबीएल र बीपीएल खेलाडी हुन् । उनले टी-२० मा ४० खेलमा ९४५ रन प्रहार गरेका छन् । उनको स्टाइक रेट १४८.८१ रहेको छ । उनी क्रिजमा जमेपछि विपक्षलाई भारी पर्ने खेलाडी हुन् ।
रोयल्सले गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्कट कुगेलेइजनलाई रिटेन गरेको छ । स्कट कुगेलेइजन गत सिजनमा रोर्यल्सका लागि धेरै जितमा नायक बनेका थिए । गत सिजनमा बलिङमा कोही चम्किएका थिए भने उनी हुन् स्कट कुगेलेइजन । गत सिजनमा ९ खेलमा १७ विकेट लिएका थिए । त्यस्तै उनले एक पटक ५ विकेट हल पनि लिएका थिए । गत सिजनमा ९ खेलमा उनको बलिङ इकोनोमी ७.२८ रहेको छ ।
रोयल्सले रिटेन गरेका अमेरीकी अलरान्डर हरमित सिंह पनि पछिल्लो समय निकै लयमा रहेका खेलाडी हुन् । उनले आफूलाई बलिङ ब्याटिङ दुवैबाट आफूलाई आवश्यकता अनुसार प्रस्तुत गर्न सक्छन् ।
रोयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी पनि पछिल्लो समयमा उच्च लयमा रहेका खेलाडी हुन् । उनले यही लयलाई एनपीएलमा पनि समाते भने विपक्षलाई एक्लै भारी पर्ने खेलाडी हुन् । उनी फिलडिङ, ब्याटिङ र बलीङ सबैमा उत्कृष्ट लयमा रहेका खेलाडी हुन् । गत सिजनमा पनि राम्रो कप्तानी गरेका ऐरीलाई यस पटक लिनले पनि सघाउने छन् ।
यसपटकको सिजनमा रोयल्सका लागि नजर अन्दाज गर्न नसकिने खेलाडी हुन्-हेमन्त, हेमन्त मिडियम फास्ट बलर हुन् । उनी नेपालमा स्विङ बरको रूपमा चिनिन्छन् । नरेन साउद र अविनाश बोहोरा गत सिजनमा नै आफूलाई बलिङमा स्थापित गरेका खेलाडी हुन् । सुदूरका लागि छुटाउनै नहुने अर्का खेलाडी हुन्-आरिफ शेख । शेख खेललाई अपठ्योरो स्थितिबाट निकाल्ने खेलाडीको रूपमा चिनिन्छन् । इशान पाण्डेले गत सिजनमा ब्याटिङ मार्फत् आफ्नो छापा छोडी सकेका छन् । उनी बाँयाहाते ब्याटर हुन् । यदि उनी यो सिजनमा पनि ब्याटिङ देखाउँछन् भने राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सक्ने खेलाडी हुन् ।
तर, यसपटकको एनपीएल भने गत सिजन भन्दा फरक नै हुने छ । जहाँ नेपाली खेलाडीहरूले घरेलु मैदानमा पहिलोपट फ्लड लाइटमा खेल्ने छन् । जसको मतलब हो पहिलो पटक नेपालले रातको समयमा क्रिकेट खेलाउने छ । यसका लागि खेलाडी दर्शक सबै हौसिएका छन् । एनपीएलको दोस्रो सिजन आगामी मङ्सिर १ गते देखी त्रिवि क्रिकेट मैदानबाट सुरु हुँदै छ। जहाँ जहाँ जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।











