काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटी विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । उनले पार्टीले विपरीत निर्णय गरे महामन्त्री पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

शुक्रवार सिंगापुरबाट फर्केका देउवालाई आइतबार मध्यान्ह भेट्न पुगेका शर्माले डेढ घण्टा छलफल गरेका हुन् । उनले विधानको धारा १७ (९) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन बाध्यकारी हुने बताएका छन् । ‘संविधानबाहिर संसद् विघटन अस्वीकार गर्ने कांग्रेसले विधानबाहिर चल्न मिल्दैन,’ शर्माको देउवालाई भनेका हुन्।
भेटपछि हात्तिसारको रेष्टुरेन्टमा पार्टी नेताहरूसँग कुरा गर्दै शर्माले देउवालाई राखेको अडान दोहोर्याए । उनले विशेष महाधिवेशन सम्बोधन नगरी अन्य निर्णय भए पद छोड्ने बताए । यो धारणा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि जानकारी गराएका छन् । विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिले असोज २९ मा माग बुझाएकाले पुस २८ भित्र महाधिवेशन बोलाउनुपर्छ । महामन्त्री गगन थापा र शर्माले नियमित महाधिवेशन (पुस १६–१९) सम्भव नभए विशेष गर्नुपर्ने अडान लिएका छन् ।
थापाले मङ्सिर २७ मा विशेष महाधिवेशन प्रस्ताव गरेका छन् । संस्थापन पक्ष चुनावपछि महाधिवेशन चाहन्छ भने शेखर कोइराला पक्ष चुनावअघि नियमितको पक्षमा छ । केन्द्रीय समिति बैठकमा सहमति जुट्न सकेको छैन । देउवाले सिंगापुर फर्केलगत्तै नेताहरूसँग छलफल थालेका छन् । शनिवार चार निकट नेतालाई बोलाएका थिए भने आइतबार शर्मासँग भेटेका हुन् ।














