काठमाण्डौ । निर्वाचन आयोगमा हालसम्म १ सय २२ राजनीतिक दल दर्ता रहेका छन् । फागुन २१ गतेका लागि निर्वाचन घोषणा हुनु अघिल्लो दिनसम्म यिनै १२२ दल दर्ता थिए ।

त्यसपछि ७ नयाँ दल दर्ता भएका छन् भने ७ दल खारेज भएका छन् । खारेजमध्ये ६ दल एकता प्रक्रियामा गएका हुन् भने १ दल सर्वोच्च अदालतको आदेश अनुसार खारेज गरिएको हो ।
यससँगै आयोगमा थप २८ राजनीतिक दल दर्ता प्रक्रियामा रहेका छन् ।
आगामी प्रतिनिधिसभा चुनावमा सहभागी हुन नयाँ दल दर्ताका लागि आयोगले आजसम्मको समय दिएको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित अवधिभित्र दल दर्ता प्रमाणपत्र प्राप्त गर्ने दलहरूले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन पाउनेछन् ।














