जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोजकुमार यादव छन् । पक्राउ परेका शम्भकुमार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार हुन् ।
२८ कात्तिक साँझ मृत्यु संस्कार कार्यक्रममा सहभागी हुन पुगेका वडाध्यक्ष यादवमाथि उनी शम्भुकुमारले गोली प्रहार गरेको पीडित पक्षको दाबी छ । विवाद मिलाउन खोज्दा उनीमाथि नै गोली प्रहार भएको थियो ।
धनुषा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई गोली हान्न प्रयोग भएको कटुवा पेस्तोल र गोलीको खोका समेत बरामद भएको प्रहरीले जनाएको छ ।














