काठमाडौं । अस्ट्रेलियाली पारालिम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको अल्पायुमै निधन भएको छ।

सन् २०२० को टोकियो पारालिम्पिकमा देशका लागि पहिलो स्वर्ण पदक दिलाउने सफल प्यारा–साइक्लिस्ट ग्रेकोको आइतबार एडिलेडस्थित आफ्नै घरमा अचानक स्वास्थ्य समस्या देखिएपछि निधन भएको अस्साइक्लिङ, अस्ट्रेलियाको खेलकुद नियामक निकायले जनाएको छ।
सेरेब्रल पाल्सीबाट ग्रस्त ग्रेकोले खेल जीवनको सुरुआत ट्र्याक–एन्ड–फिल्ड खेलाडीका रूपमा गरेकी थिइन्। सन् २०१८ देखि साइकलिङमा प्रवेश गरेकी उनले टोकियो पारालिम्पिकमा महिला (सी वान्-३) ३ हजार मिटर व्यक्तिगत दौडमा कीर्तिमान तोड्दै स्वर्ण जितेकी थिइन्।
उनी विश्व च्याम्पियनसिप र विश्वकपका थुप्रै पदकधारी पनि रहिन् । सन् २०२५ को रोड रेस विश्व च्याम्पियनसिपमा उनले कांस्य पदक समेत हासिल गरेकी थिइन्।











