Logo
Logo

कांग्रेस कलहः महाधिवेशनको विवादले पार्टी फुटको चर्चा


0
Shares

काठमाडौं । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यति बेला आन्तरिक कलहको चरम बिन्दुमा पुगेको छ। महाधिवेशनको समय, प्रक्रिया र नेतृत्व चयनका विषयमा देखिएको मतभेदले पार्टी फुटको संघारमा त पुगेको होइन ? भन्ने प्रश्न उठाएको छ ।

एक समूह चाँडो विशेष महाधिवेशनको दबाब बढाइरहेको छ भने अर्को पक्ष निर्वाचनपछि मात्र साधारण महाधिवेशन गर्ने अडानमा अडिग छ। यसबीच, केन्द्रीय सदस्यहरूले छुट्टाछुट्टै समूह बनाएर सभाहरू गर्न थालेका छन्, जसले कांग्रेसको एकता गम्भीर सङ्कटतर्फ धकेलिएको संकेत दिन्छ।

असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको बैठक अझै निष्कर्षविहीन छ। विशेष महाधिवेशन कि साधारण महाधिवेशन, संसद पुनःस्थापना कि निर्वाचन यिनै मूल विवादमा टुंगो नमिल्दा पार्टीभित्र गुटबन्दी उग्र बन्दै गएको छ।

अनिर्णयमा अल्झिएको पार्टीभित्र नेताहरू केन्द्रीय समितिको बैठकभन्दा पनि आफ्नो–आफ्नो गुटको बैठकलाई प्राथमिकता दिन थालेका छन्। यस्ता परिदृश्यले कांग्रेस फुटको संघारमा त पुग्ने हो कि भन्ने चिन्ता फेरि उच्च बनेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडानमा छ। तर देउवा–पक्ष भने ‘पहिले निर्वाचन, पछि महाधिवेशन’ को नीतिमा अडिएको छ।

शर्माले त फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नभए पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका छन्। विशेष महाधिवेशन माग गर्दै २,४८८ महाधिवेशन प्रतिनिधिले दिएको हस्ताक्षरलाई बेवास्ता गर्न नमिल्ने उनको दाबी छ।

यसैबीच, कांग्रेसमा तेस्रो धार पनि बलियो बन्दै छ । जसले संसद पुनःस्थापना र नियमित महाधिवेशनका मुद्दा उठाइरहेको छ। कतिपयले त मधुर स्वरमै हिन्दु राज्य र राजसंस्थाको बहस समेत छेड्न थालेका छन् । कांग्रेस अहिले पाँच छुट्टाछुट्टै धारामा विभाजित देखिन्छ।

गगन थापा, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, शंकर भण्डारी, राजन केसी तथा अर्जुन जोशीलगायतका नेताहरू आ–आफ्ना समूहको नेतृत्वमा उभिइरहेका छन् । साना–साना झुण्डमा बसेर केन्द्रीय सदस्यहरूले फरक–फरक एजेन्डा अघि बढाएकै कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

निर्वाचनअघि महाधिवेशनको माग राख्ने गगन–समूहलाई कमजोर पार्न देउवा समूहका दोस्रो तहका नेताहरू अन्य समूहसँग संवाद बढाइरहेका छन् । केन्द्रीय समितिमा प्रस्ताव पक्ष वा विपक्षमा ल्याएर मतदान गराउने तयारीसहित ।

यसमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू लागेका छन्। मतदानमा लगिए गगन–समूहको प्रस्ताव अस्वीकृत हुने निश्चित छ- यही कारण उनीहरूले यसलाई संस्थापन पक्षको ‘दबाबमूलक रणनीति’ र सम्भावित ‘पार्टी फुट’ को संकेतको रूपमा लिएका छन्।

जेन–जी आन्दोलनपछिको चरणमै देउवा समूह तीन टुक्रामा विभाजित भएको थियो । तर अहिले ती तीन धार पुनः एउटै समूहमा गोलबद्ध हुने प्रयत्नमा छन् । शनिबार मात्र उनीहरू ललितपुरको हिमालय होटलमा छलफलमा बसेका थिए ।

छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेन । तर सहभागी नेताहरूका अनुसार निर्वाचनअघि महाधिवेशन गर्ने गगन–समूहको प्रस्तावलाई समर्थन नदिने मनोवृत्ति बलियो देखियो ।
गगन–समूहलाई धेरै पेल्दा पार्टी फुट्न सक्छ भन्ने प्रश्नमा देउवा–समूहका नेताहरू भने सतर्कता–पूर्ण तर कठोर प्रतिक्रिया दिइरहेका छन् ।

महाधिवेशनको मिति तत्काल टुंग्याउनुपर्ने—नत्र विशेष महाधिवेशन गर्नुपर्ने—गगन–समूहको माग अहिले पार्टीभित्र ‘चेपुवामा परेको’ जस्तै देखिन्छ । यदि संस्थापन पक्षले प्रस्तावलाई मतविभाजनमा लैजाने निर्णय गर्यो भने त्यो कांग्रेस विभाजनतर्फ धकेलिने जोखिम गगन–समूहले स्पष्टै देखाइरहेको छ।

देउवा सक्रिय
महाधिवेशनको मिति एक महिनादेखि टुंगोमा नआएपछि सभापति शेरबहादुर देउवा पुनः सक्रिय भएका छन्। सक्रिय राजनीति छोडेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका देउवा—सिंगापुरमा उपचार गरेर फर्किएलगत्तै—पार्टी नेताहरूसँग अलग–अलग र सामूहिक भेटघाटमा जुटे।

दुई दिनमै उनले कार्यवाहक सभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसँग सुझाव लिए। बैठक निष्कर्षविहीन बनेपछि देउवाले खड्कालाई पार्टीलाई चुनावी तयारीतर्फ लैजाने र महाधिवेशन मितिसम्बन्धी प्रस्तावमा गृहकार्य गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्