Logo
Logo

ओलीको दिनगन्ती सुरू, देशव्यापी ओलीविरोधी क्याम्प खडा


5k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षमा नदोहोरिने र नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जाहेर गरेपछि नवौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका ओली १०औँ महाधिवेशनमा पनि अध्यक्षमा दोहोरिएका थिए ।

फेरि तेस्रोपटक अध्यक्ष बन्न विधान नै संशोधन गरेर ओली अघि बढेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले विद्रोह गरेर उम्मेदवारी दिने भएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका पोखरेलले विद्रोह गरेपछि अध्यक्ष ओलीको दिनगन्ती सुरु भएको छ ।

ओलीकै कारण नेपालको राजनीति संकटमा भासिएका बेला पाँच दशकदेखि एमालेको राजनीतिमा सक्रिय पोखरेल नेतृत्वका लागि अघि बढेका हुन् । उनी संकट व्यवस्थापनको सूत्रसहित महाधिवेशनमा होमिएका छन् ।

दुईतिहाइको कम्युनिष्ट सरकार चलाउन नसकेर असंवैधानिक रुपमा संसद् भंग गरेको र फेरि कांग्रेस र एमालेको गठबन्धन सरकार पनि चलाउन नसकेर सत्ताच्युत भएकाले ओलीबाट पार्टी चल्न नसक्ने ठहर पोखरेल पक्षको छ । जेन–जी आन्दोलनका क्रममा भएको नरसंहारको जिम्मेवारी ओलीले लिनुपर्ने भएकाले उनको नेतृत्वमा निर्वाचन जान नसकिने एमाले नेताहरू बताउँछन् ।

एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने भएको छ । एमाले महाधिवेशन नजिकिँदै जाँदा कित्ताकाट हुन थालेको छ । अहिले एमालेमा नवौँ महाधिवेशनको झल्को देखिने गरी नेताहरू अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्या भण्डारी लाइनमा देखिएको छ । भण्डारीलाई ओलीले सदस्यताबाटै वञ्चित गरेपछि पोखरेल अघि बढेका हुन् । पोखरेलले महाधिवेशनमा प्यानलै खडा गर्ने स्रोतले बतायो ।

आमजनता ओलीप्रति आक्रोशित रहेका छन् । त्यसको प्रभाव निर्वाचनमा देखिने भन्दै एमाले पङ्क्ति निराश छ । उक्त निराश पङ्क्तिको मत महाधिवेशनमा पोखिने र ओली बढारिने देखिएको छ । त्यसका लागि एमालेमा ओलीविरोधी क्याम्प खडा भइसकेको छ । हिजो ओलीलाई बोकेर हिँड्नेहरू नै अहिले ओलीलाई फाल्न लागेका छन् । आफ्नै समूहका नेताहरूलाई साथमा राख्न नसकेर आत्तिएका ओली बाहिरका नेताहरू खोज्न थालेका छन् ।

एमालेमा लामो समय ओलीले पार्टी कब्जा गर्ने र नेतृत्व हस्तान्तरण नगर्ने भएपछि पोखरेलले सुरु गरेको विद्रोह देशव्यापी बनेको छ । विद्या भण्डारीलाई जसरी पनि किनाराकृत गर्ने भएपछि पछिल्लो पटक १५ कात्तिकको केन्द्रीय सचिवालय बैठकपछि ओलीसँग विद्याको टेलिफोन संवाद भएको थियो ।

सो संवाद सकारात्मक नदेखिएपछि भण्डारीले वैकल्पिक गृहकार्य गरी पोखरेललाई अघि सारेकी हुन् । पोखरेलको विगत संस्थापन रहेका कारण यसपटक उनी आफैँ संस्थापकको नेतृत्व लिनेगरी अघि बढेका छन् । उनले आफू जहाँ रह्यो, त्यही संस्थापन भन्दै आएका छन् । विगतमा पोखरेल जता त्यतै संस्थापन भन्ने नजिर छ ।

माधवकुमार नेपाल महासचिव हुँदा स्थायी कमिटी सदस्य रहेका पोखरेल कोओर्डिनेसन केन्द्रसँगै तत्कालीन महासचिव मदन भण्डारी निकट थिए । ‘जनताको बहुदलीय जनवाद’को व्याख्याता पोखरेल जता उभियो त्यतै संस्थापन पक्ष भएको विगतबाट अहिले ओली त्रासमा छन् ।

बुटवलमा भएको आठौँ महाधिवेशनमा ओली–माधव नेपाल मिल्दा पोखरेल झलनाथ खनाल खेमाबाट महासचिवको उम्मेदवार भएका थिए । त्यसबेला खनाल नै अध्यक्ष निर्वाचित भएका थिए । नवौँ महाधिवेशनमा माधव–झलनाथविरुद्ध पोखरेल ओलीतिर उभिए । महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए । १०औँ महाधिवेशनमा ओलीलाई सर्वसम्मत गराउन पोखरेलेले प्रयत्न गरेका थिए ।

विगतमा मदन भण्डारीको रोजाइमा परेका पोखरेल अहिले विद्याको रोजाइमा परेका छन् । केन्द्रीय सङ्गठन विभागले गरेको सदस्यता नवीकरणलाई ओलीले केन्द्रीय कमिटीको बलमा मान्यता दिन रोकेपछि विद्या उनीसँग असन्तुष्ट थिइन् भने पोखरेलले विद्याको सदस्यता नवीकरण गर्नुपर्छ भनेर बैठकमा आवाज उठाएका थिए ।

२२ भदौमा सम्पन्न विधान महाधिवेशन हुँदै ३१ असोजमा सम्पन्न केन्द्रीय कमिटी र १५ कात्तिकमा सम्पन्न केन्द्रीय सचिवालय बैठकसम्म पनि सदस्यता नवीकरणको सवाल उठ्दै आए पनि ओली सकारात्मक बन्न सकेनन् । तर, पछिल्लो बैठकमा ओलीले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमाथि अन्यथा निर्णय गरेर उल्ट्याउन नसकिने बताएर ‘च्याप्टर क्लोज’ गरेका थिए ।

२८ कात्तिकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वक्तव्य जारी गरेर अध्यक्षमा उठ्ने प्रस्ट पारिसकेका छन् । उनले त्यसदिन आगामी महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानलगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको उल्लेख गर्दै ओलीलाई काउन्टर दिँदा संस्थापन पक्ष झस्किएको छ । पोखरेललाई एमालेको युवापंक्तिको साथ रहेको छ ।

१०औँ महाधिवेशनमा अध्यक्ष ओलीले आफू निर्विरोध अध्यक्ष हुन चाहेको भए पनि उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धा गरेपछि त्यो चाहाना पूरा भएको थिएन । ओलीले अन्ततः रावललाई कारबाही गरेका थिए । अहिले रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । ११औँ महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष हुन चाहेका छन् । पछिल्लो राजनीतिक परिस्थितिले उनलाई सर्वसम्मत अध्यक्ष हुन नदिनेमा विद्या भण्डारी पक्ष र पोखरेल लागिरहेका छन् । पोखरेल पक्षले कार्यालय खोलेर महाधिवेशनका लागि काम सुरु गरिसकेको छ ।

पोखरेलले आन्तरिक भेटघाटलाई बढाएका छन् । केही दिनयता ईश्वर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा निरन्तर छलफल भइरहेको छ । ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाएको निष्कर्ष पोखरेल समूहको छ । ओली भने जनवर्गीय संगठनका अध्यक्षलाई बोलाएर सर्वसम्मत नेतृत्व चयनको पक्षमा लाग्न निर्देशन दिइरहेका छन् ।

पोखरेल प्रतिस्पर्धामा उत्रिने भएपछि ओलीले सबैभन्दा बढी संगठित सदस्य रहेका जिल्लाहरूबाट विभिन्न बहाना र क्लष्टर तयार पारेर प्रतिनिधि ल्याउने कोसिस गरिरहेका छन् । संस्थापन पक्षले प्रतिनिधि छनोट पनि मङ्सिर १५ गते तय गरेको छ । प्रतिनिधि छनोट एकैदिन गर्ने निर्णयमा पोखरेल समूहले आपत्ति जनाएको छ । धनुषा, महोत्तरी, झापा, मोरङ, सिराहजस्ता जिल्लाबाट संस्थापन पक्षले धेरै प्रतिनिधि ल्याउन खोजेको छ ।

महाधिवेशन प्रतिनिधि छनोट भइरहँदा अध्यक्ष ओली पक्षका नेता कार्यकर्ताले वडादेखि प्रतिनिधि कब्जाको रणनीति अपनाएका छन् । ओलीले इतर समूहमा रहेका नेताहरूको गतिविधिलाई नियमित निगरानी राखेर बिस्तारै पाखा लगाउने रणनीति लिएका छन् ।

पोखरेलले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने भएपछि एमालेभित्र पीडित बनेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई उत्साही भएका छन् । साथै सो समूह अहिले देशभरि महाधिवेशनको तयारीमा आन्तरिक छलफलमा जुटेको छ । संस्थापन समूहबाट महासचिवमा शंकर पोखरेल दोहोरिने भएमा इतर समूहबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने तयारीमा छन् ।

शंकर पोखरेलले महासचिव नलडेर प्रदीप ज्ञवाली लडेमा गोकर्ण विष्ट महासचिव लड्ने सम्भावना रहेको बताइन्छ । यदि पोखरेल र ज्ञवाली महासचिव नलडेर अरू लडेमा योगेश भट्टराईले महासचिव लड्ने तयारी गरेका छन् ।

सचिवमा कर्ण थापा र गोकुल बाँस्कोटा उम्मेदवार बन्ने पक्कापक्की भएको छ । केन्द्रीय सदस्यहरू पनि इतर समूहसँग जोडिन थालेकाले दुई समूहबीच जिल्ला तहसम्म नै समूह बनेको छ ।

उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भूमिका अझै स्पष्ट भइसकेको छैन । अहिलेसम्म ओली समूहमा रहेका उनीहरूलाई इतर समूहले विश्वास गर्न सकेको छैन । उनीहरूले असोजमा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा विद्याको पक्षमा अभिव्यक्ति दिने भने पनि नदिएपछि अहिले इतर समूहले विश्वास नगरेको हो ।

ओली समूहले अध्यक्षमा ओलीसहित शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, महेश बस्नेत, रामकुमारी झाँक्रीलगायत नेतालाई समेटेर टिम बनाउने योजनामा रहेको छ । ओली अध्यक्ष हुँदा उपाध्यक्षमा शंकर पोखरेल र विष्णु पौडेल महासचिव प्रदीप ज्ञवाली, सचिवमा महेश बस्नेत र भर्खरै नेकपा एसबाट प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीलाई ल्याउने तयारी देखिन्छ । विद्या–पोखरेल समूहले ओलीको टिम हेरेर व्यवस्थापन गर्ने सोच बनाएको छ ।

लगभग सात वर्ष राष्ट्रपति भएर २०७९ साल फागुनमा पदावधि सकिएकी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने तयारीमा थिइन् । गत असार १४ गते उनले आफूले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरेकी थिइन् । साउनको पहिलो हप्ता बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले सम्मानित राष्ट्रपति भइसकेको व्यक्ति दलको कार्यकर्ता बन्न नमिल्ने निष्कर्ष बैठकमा सुनाएपछि पोखरेललाई बोक्नुपर्ने अवस्थामा पुगेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्