काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा.शेखर कोइरालाबीच बुधवार भेटवार्ता हुँदै छ। डा। कोइरालाले यसअघि विशेष महाधिवेशनले पार्टी विभाजन निम्त्याउन सक्ने भन्दै विरोध जनाउँदै आएका थिए ।

तर मङ्गलवार आफूनिकट युवा नेताहरूसँगको छलफलमा उनले केही लचकता देखाएका छन् । उनले भनेका छन्, ‘मङ्सिरको साटो पुस अन्त्यसम्म नियमित महाधिवेशन गर्न सकिएन भने केन्द्रीय कार्यसमितिले पूर्ण बैठक सर्वसम्मत वा आम सहमतिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्छ ।’
यसअघि संस्थापन पक्ष नियमित महाधिवेशनका लागि सहमत नदेखिएपछि महामन्त्री थापाले गत केन्द्रीय कार्यसमिति बैठकमै २७ मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरिसकेका छन् । सोही प्रस्तावलाई बलियो बनाउन महामन्त्री थापा–शर्मा पक्षले कोइराला समूहसहित पार्टीका विभिन्न पक्षसँग संवाद थालेको छ । कोइराला पक्षसँगको यो भेटलाई विशेष महाधिवेशनको एजेन्डामा सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ ।














