काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी सर्वोच्च अदालत जाने बताएका छन् ।

मङ्गलवार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित कानुनी लडाइँ लड्ने बताएका हुन् । उनले भने, ‘यो विघटन संविधान र कानुनको पूर्ण उल्लङ्घन हो। अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबाहेक अर्को कुनै संवैधानिक विकल्प नै छैन ।’ओलीले अगाडि थपे, ‘हामी दुई मोर्चामा एकसाथ अघि बढ्छौँ : पहिलो-यो असंवैधानिक कदमलाई पूरै अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ । दोस्रो-यसको संवैधानिक परीक्षण अनिवार्य छ। प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र सम्भावित फैसला हो। ‘उनले बारम्बार संविधान अध्ययन गरेको स्मरण गर्दै यो विघटन पूर्णतः असंवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको जोड दिए । ‘यो सरकार आफूलाई न लोकतान्त्रिक भन्न सक्छ, न संवैधानिक नै,’ ओलीको भनाइ थियो ।
बैठकमा सरकारप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘अराजकता, आगजनी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने यो सरकारले संविधानको मर्म र शान्तिपूर्ण राजनीतिक प्रणालीलाई नै कमजोर बनाइरहेको छ ।’अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले सडक र अदालत दुवै मोर्चामा एकैसाथ सशक्त सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।














