Logo
Logo

पत्रकारितामा ‘दृष्टि’को निर्भीक यात्रा


1.2k
Shares

आज हामी ४२ वर्ष पूरा गरेर ४३औँ वर्षमा प्रवेश गरेका छौँ । विभिन्न आरोह–अवरोह पार गर्दै हामी यो स्थानमा आइपुगेका हौँ । लामो संघर्षमय यात्रामा हामीलाई सधैँ विश्वास गर्ने आम पाठक एवं शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

पत्रकारिता उच्च नैतिकतासहितको आस्था र विश्वासमा अडिने स्वतन्त्र पेशा हो  । हरेक अप्ठ्यारा, कठिनाइ र चुनौतीमा आम पाठकबाट प्राप्त साथ र विश्वास नै ‘दृष्टि’को सम्पत्ति हो । सत्यको उजागर गर्ने, जनपक्षीय पत्रकारितालाई दृढतापूर्वक अंगालीराख्ने र परिवर्तनको संवाहकको रूपमा हामी निरन्तर उभिँदै आएका छौँ ।

हरेक आन्दोलनको साक्षी र संवाहक हो ‘दृष्टि’ । पञ्चायतीविरोधी आन्दोलन, बहुदलीय व्यवस्थाको पुरस्थापना, निरंकुश राजतन्त्रको अन्त्य हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा ‘दृष्टि’ सधैँ अग्रमोर्चामा रह्यो । पञ्चायती व्यवस्था र शाहीकालमा पत्रिकामाथि अंकुश लगाइएको थियो ।

राजनीतिक दलका नेताहरूका समाचार–विचार सम्प्रेषण गर्दा जेल जानुपर्ने स्थिति थियो । राजनीतिक दल र नेताहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा जनचेतना फैलाउने सवालमा हामी कहिल्यै विचलित भएनौँ । समाजलाई दिशानिर्देश गराउने विचार निर्माणमा निरन्तर भूमिका खेल्दै आयौँ । आवाजविहीनहरूको आवाज, विश्लेषणात्मक तथा खोजमूलक सामग्री पाठकसामु पस्कँदै आयौँ । राजनीतिक, सामाजिक र आर्थिक बदलावका निम्ति सधैँ परिवर्तनको पक्षमा, जनताको पक्षमा वकालत गरिरह्यौँ ।

भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहास नौलो घटना हो । यसलाई संस्थागत गर्दै जेनजी आन्दोलनको मर्म र भावनाअनुसार देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन हुनुपर्छ । ‘दृष्टि’ले विकृति, विसंगति र भ्रष्टाचार काण्ड बाहिर ल्याउँदा भ्रष्ट, बिचौलिया र दलालबाट अनेक दुःख दिने काम पनि भयो । तर, हामी रत्तिभर विचलित भएनौँ, आगामी दिनमा पनि हुनेछैनौँ । हामी आमजनताका सरोकारका विषयमा निरन्तर उठाइरहने छौँ । अहिलेसम्म शासन व्यवस्थामाथि प्रश्न उठ्नुको मूलकारण भ्रष्टाचार र कुशासन नै हो । ‘दृष्टि’ले भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर खबरदारी गरिरहने छ ।

पत्रकारितामा डिजिटल क्रान्ति आएको छ । समाचार बनाउने तरिका, समाचार सम्प्रेषण र समाचारको उपभोग गर्ने तरिकामा भिन्नता आएको छ । इन्टरनेट र पछिल्ला समयमा प्रविधिले ल्याएको परिवर्तनले नै यो सम्भव भएको हो । तर, दस्तावेजका लागि छापा माध्यमको महत्त्व अझै बढेर गएको छ । सत्यतथ्य, सन्तुलित र विश्वसनीयता पत्रकारिताको सिद्धान्त हो ।

हामी सत्य, तथ्यमा आधारित भएर विश्लेषणात्मक सामग्री पस्कँदै आएका छौँ । यो क्रम आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने छौँ । मिडिया आवाजविहीनको आवाज हो भन्ने कुरा हामीले भुलेका छैनौँ ।

हरेक अग्रगामी मोर्चामा सहयात्री भई सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने अग्रणी माध्यमका रूपमा हामी स्थापित भयौँ । हाम्रो निष्ठा एवं प्रतिबद्धतामा कहिल्यै कमी आएन । अत्यन्त प्रतिकूल अवस्थामा समेत विचलित नभई निरन्तर अगाडि बढ्दै आयौँ । पश्चगामी, प्रतिक्रियावादी शक्तिविरुद्ध हामीले निरन्तर खबरदारी गर्दै आयौँ । आगामी दिनमा पनि निरन्तर खबरदारी गरिरहने छौँ । पाठकहरू नै हाम्रो प्रेरणाका स्रोत हुन्  । निर्भीक पत्रकारिताको जग हामी कहिल्यै भुल्ने छैनौँ । चेतनाको बिगुल फुकिरहनेछौँ ।

अन्त्यमा, आगामी दिनमा दृष्टिलाई थप परिस्कृत गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ । एकपटक फेरि आम पाठक, बिक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवं शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्