एजेन्सी । अमेरिकी संसद्को दुवै सदनले यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् ।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा फाइल सार्वजनिक गर्ने पक्षमा ४२७ मत परे भने केवल १ मत विपक्षमा खसेको थियो । माथिल्लो सदन सिनेटले कुनै औपचारिक मतदान नगरी सर्वसम्मतिले फाइल सार्वजनिक गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ। अब यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउसमा पठाइनेछ ।
एपस्टिन यौन दुर्व्यवहारको अभियोगमा जेलमा रहेकामा सन् २०१९ मा मृत्यु भएको थियो । यसअघि हाउस ओभरसाइट कमिटीले एपस्टिनसँग सम्बन्धित २० हजार पृष्ठका दस्तावेज सार्वजनिक गरिसकेको थियो, जसमा केहीमा राष्ट्रपति ट्रम्पको नामसमेत उल्लेख छ ।
ट्रम्प र एपस्टिनबीच लामो समय मैत्रीपूर्ण सम्बन्ध रहेको भए पनि ट्रम्पले सन् २००० को दशकको शुरुमा सम्बन्ध तोडेको बताइसकेको छ । उनले एपस्टिनको यौन दुर्व्यवहार वा बेचबिखनसँग आफूको कुनै सम्बन्ध नभएको बारम्बार अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले यसअघि रिपब्लिकन पार्टीका सांसदहरूलाई एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्न मतदान गर्न आह्वान गरेका थिए ।











