एजेन्सी । विश्वको ८ अर्ब २० करोड जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्न थालेका छन् ।

सन् १९५० मा विश्वको केवल २० प्रतिशत जनसङ्ख्या शहरमा बस्ने गरेकामा यो दर अहिले ४५ प्रतिशत पुगेको संयुक्त राष्ट्रसंघको ‘विश्व शहरीकरण प्रतिवेदन २०२५’ ले देखाएको छ, जसलाई चिनियाँ समाचार संस्था सिन्ह्वाले उद्धृत गरेको छ । प्रतिवेदन अनुसार, विगत सात दशकयता विश्व लगातार शहरीकरणतर्फ अग्रसर भएको छ ।
सन् १९७५ मा १० लाखभन्दा बढी जनसङ्ख्या भएका ठूला शहरहरू केवल ८ वटा थिए भने सन् २०२५ सम्म ती शहरको संख्या ३३ पुगेको छ, जसमा १९ शहर एशियामा छन् । प्रतिवेदनले इन्डोनेशियाको जाकार्तालाई विश्वकै सबैभन्दा ठूलो बस्ती भएको शहर उल्लेख गरेको छ, जहाँ करिब ४२ लाख मानिस बसोबास गर्छन् ।
सन् २०५० सम्म यस्ता ठूलो शहरको संख्या ३७ पुग्ने अनुमान गरिएको छ। तर, प्रतिवेदनले देखाएको मुख्य कुरा के भने, ठूलो शहरभन्दा साना र मध्यम आकारका शहरहरूमा धेरै मानिस बसोबास गर्छन् र ती शहरहरू अझ द्रुत गतिमा बढिरहेका छन् । अध्ययनमा समावेश १२ हजार शहरमध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम र ८१ प्रतिशतमा २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या भएको पाइएको छ ।
विश्वभरका शहरहरूको संख्या सन् १९७५ देखि २०२५ सम्म दोब्बरभन्दा बढी बढेको छ। सन् २०५० सम्म विश्वका शहरहरूको संख्या १५ हजारभन्दा बढी पुग्ने अनुमान छ, जसमा धेरै साना शहरहरूमा २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या रहनेछ ।
साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० मा ४० प्रतिशत भए पनि सन् २०२५ सम्म घटेर ३६ प्रतिशत पुगेको छ । ग्रामीण क्षेत्रमा बस्ने जनसंख्या अझ घटेर १९ प्रतिशत मात्र बाँकी छ ।
५ हजारभन्दा बढी जनसङ्ख्या भएका र पर्याप्त घनत्व भएका बस्तीहरू ७१ देशमा सामान्य बस्ती प्रकार बनिसकेका छन् । जबकि, ग्रामीण बस्तीहरू सन् १९७५ मा १ सय १६ देशमा प्रमुख बस्ती थिए, अहिले केवल ६२ देशमा मात्र सीमित छन् ।
संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी ली जुनह्वा का अनुसार, “शहरीकरण यो युगको निर्णायक शक्ति हो । यसको समावेशी र योजनाबद्ध व्यवस्थापनले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताको नयाँ बाटो खोल्न सक्छ । त्यसैले प्रत्येक देशले आवास, भू(व्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई शहर र गाउँ दुवै क्षेत्रमा समन्वय गर्दै अघि बढाउनुपर्छ ।”











