Logo
Logo

रास्वपा उम्मेदवार हुन वैवाहिक वैधता हुनुपर्ने


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा पारित गरेको छ । कार्तिक २१ र २२ गते चितवनमा सम्पन्न विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखालाई बुधवारको केन्द्रीय समिति बैठकले सुझावसहित पारित गरेको हो । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

अब रास्वपाले पारित भएको सोही रूपरेखामा आधारित रहेर उम्मेदवार छनोट गर्ने  छ । यस्तै केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट समितिको संयोजकको जिम्मेवारी पनि सहमहामन्त्री आचार्यलाई नै तोकेको छ । उम्मेदवार छनोट समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा. चन्दा कार्की र श्री राजन गौतम सदस्य र सबै प्रदेश सभापतिहरू पदेन सदस्य रहने निर्णय पनि गरेको छ।

चितवनको विस्तारित बैठकमा सहमहामन्त्री आचार्यले २४ पेजको ‘उम्मेदवार छनोट रूपरेखा’को दस्ताबेज प्रस्तुत गरेका थिए। 

दस्ताबेज बनाउँदा रास्वपाको विधानको भाग १९ अन्तर्गत रहेको लिडरसिप एकेडेमी र उम्मेदवार क्लब तथा भाग २० मा उल्लेख गरिएको प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधि सम्बन्धी खण्डले बोकेको मर्मलाई आत्मसात् गरेको भनिएको छ । उक्त दस्ताबेजलाई वैज्ञानिक, वस्तुपरक र पारदर्शी भई उम्मेदवार छनोट गर्ने उद्देश्यले तयार पारिएको दाबी गरिएको छ ।  

रूपरेखामा उम्मेदवार हुने योग्यतामा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन तथा रास्वपाको विधान बमोजिमका सर्त पूरा भएको हुनुपर्ने र थप अतिरिक्त योग्यताका साथै स्वघोषणा गर्नुपर्ने प्रारम्भिक सर्त राखिएको छ । 

रास्वपाको विधानअनुसार पार्टीको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेस गरेको, पार्टीका मूल्यमान्यताप्रति प्रतिबद्ध र अन्य राजनीतिक पार्टी त्याग गरेको हुनुपर्ने भनिएको छ । 

यस्तै सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा गर्नुपर्ने अतिरिक्त सर्त राखिएको छ । 

यस्तै अन्य अतिरिक्त सर्तमा सार्वजनिक रूपमा प्रमाणित घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात, लिंग आधारित अपमान, वा कमजोर समूहको शोषणजस्ता आचरण नगरेको र आफू वा आफ्ना परिवारका सदस्यहरूको उम्मेदवारीको समयदेखि प्रतिनिधि सभा सदस्यको सम्पूर्ण पदावधिभर आधारभूत आवश्यकताहरू स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी–स्रोत भएको स्वघोषणा गर्नुपर्ने पनि उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्