Logo
Logo

दुर्गा प्रसाईँलाई ‘हतियार’ बनाएर सरकारविरुद्ध प्रयोग गर्दै ओली !


1.3k
Shares

काठमाडौं । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने भनाइ पुनः एकपटक एमाले अध्यक्ष केपी शर्मा ओली र विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको प्रसंगले प्रमाणित गरिरहेको छ ।

पार्टीभित्रबाटै निकालिएको र पछिल्ला वर्षमा ओलीका कटु आलोचक बनेका प्रसाईंप्रति बुधबार ओलीले अचानक ‘मित्रवत्’ अभिव्यक्ति दिए । तर त्यसका पछिको मूल लक्ष्य प्रसाईं होइन, सुशीला कार्की नेतृत्वको सरकारले गरेको कदममाथि प्रहार नै थियो ।

सरकारले सोमबार मध्यरात भक्तपुरस्थित निवासमै सुतिरहेको अवस्थाबाट प्रसाईंलाई ‘सार्वजनिक शान्तिविरुद्धको काम’ गरेको अभियोगमा पक्राउ गरेको थियो । सोही दिन दिउँसो उनले जेनजी आन्दोलन तथा सरकारविरुद्धका सामग्री भिडियोमार्फत प्रसारित गरेका थिए ।

एक समय आफू प्रधानमन्त्री हुँदा प्रसाईंलाई बारम्बार पक्राउ गराएका ओलीले अहिले भने उनीमाथिको पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरे । तर यो माग प्रसाईंप्रति देखिएको आत्मीयताका कारण होइन, कार्की नेतृत्वको सरकारविरुद्ध रणनीतिक प्रहारको रूपमा आएको प्रष्ट देखिन्छ।

ओलीकै कार्यकालमा प्रसाईंलाई ‘अनपेक्षित’ हैसियत दिइएको थियो- घरमा खाने–बस्ने देखि ओछ्यानसम्म पहुँच दिने स्तरसम्म । तर ‘हजुरबुवा–नाति’को सम्बन्ध चाँडै सत्रुतामा बदलिएको थियो ।

उपत्यकास्तरीय कार्यकर्ता भेलामा ओलीले भने– ‘बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो, उपत्यकास्तरीय कार्यकर्ता भेलामा ओलीले अगाडि भने, ‘दुर्गा प्रसाईंले एउटा भिडियो निकाले । दिउँसो निस्कियो, बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन ?’

प्रसाईंले भएकै घटनाको विवरण सार्वजनिक गरेको दाबी गर्दै ओलीले त्यहि आधारमा पक्राउ गर्नु सरकारको स्वेच्छाचारी कदम भएको बताए । आक्रोश पोख्दै भने, ‘उत्तेजित भएर मान्छे गिरफ्तार गर्न पाइदैँन, कसलाई को मनपर्छ, कसलाई को मनपर्दैन भन्ने हुँदैन, भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो ? सरकारले खुब तमासा देखाइरहेको छ !’

तर, सम्झिनुपर्ने कुरा- ओली स्वयं प्रधानमन्त्री हुँदा प्रसाईं पटक–पटक पक्राउ परेका थिए । २०८१ सालको असोज, मंसिर र चैतमा तीनपटक प्रहरीले उनलाई पक्राउ गरेको थियो । लरेन्स विश्नोई प्रकरणदेखि लिएर ‘ओलीको इन्डोनेसियामा अवैध लगानी’ फैलाएको आरोपसम्म, तीनकुने घटनासँग जोडिएको अभियोगसमेत लगाएर ओली नेतृत्वकै सरकारले प्रसाईंलाई थुनामा राखेको थियो । ती सबै मुद्दामा उनी पछि धरौटीमै छुटे ।

प्रसाईंको राजनीतिक यात्रासमेत अत्यन्त उतारचढावपूर्ण छ । माओवादी, एमाले हुँदै अहिले राजावादी भूमिकामा उभिएका उनी पछिल्लो समय ‘व्यवस्था र संविधान परिवर्तन’ को अभियान चलाइरहेका छन् । उनको समर्थनमा ‘नागरिक बचाउ दल’ नामक पार्टी दर्ताका लागि आयोगमा निवेदन पनि पुगेको छ, जसको नेतृत्व माधव खतिवडाले गरेको उल्लेख छ ।

यति बेला ओलीले नै आफू प्रधानमन्त्री हुँदा पटक–पटक पक्राउ गरेको प्रसाईंमाथि अहिले भइरहेको गिरफ्तारीलाई ‘मानवता बिरुद्ध’ भन्दै विरोध गर्नुले स्वयम् ओलीकै अघिल्ला कदमहरूको स्मरणलाई पनि उचालिदिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत अभिव्यक्तिका आधारमा पक्राउ गर्नु उचित नभएको बताइसकेपछि ओलीले ‘सरकारले प्रसाईंलाई थुनिराख्न नमिल्ने’ जिकिर गरे ।

ओली–दुर्गा प्रसाईं सम्बन्ध
कुनै समय प्रसाईं ओलीका अत्यन्त प्रिय पात्र थिए । चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा झापाबाट रोकिएका प्रसाईं ओलीकै माध्यमबाट केन्द्रीय कमिटीले मनोनीत गरियो । तर धेरै नेता–कार्यकर्ता उनीप्रति सन्तुष्ट थिएनन् । त्यसैले ओलीको निर्णय खुवै आलोचनाको विषय बनेको थियो ।

२०७८ पुस २ गतेको केन्द्रीय बैठकबाट त प्रसाईं एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुखसम्म बने । त्यसपछि उनी संघीय सांसद बन्ने अभिलाषासहित झापाका क्षेत्रमा टिकट खोज्दै हिँडे । तर झापा–३, झापा–५, झापा–२मा कुनै पनि क्षेत्रमा नेतृत्वले उनलाई मान्यता दिएन । अन्ततः उनी रुष्ट बन्दै पूर्वराजासहितको सार्वजनिक कार्यक्रम आयोजना गर्न पुगे । त्यसपछि एमालेले उनलाई केन्द्रीय सदस्यबाट हटायो ।

पार्टीबाट हटेपछि प्रसाईं पुनः ‘राजालाई फर्काउने’ अभियानमा लागे । हिन्दु राष्ट्र, महँगो ब्याजमा परेका ऋणीहरूका मुद्दासँग आफूलाई जोड्दै उनी सडकमा सक्रिय बने ।

२०७४ को चुनावअघि आफ्नै निवासमा ओली–प्रचण्डलाई खानेकुरा खुवाएको तस्बिर बाहिरिएपछि प्रसाईं बलियो रूपमा चर्चामा आएका थिए । चुनावमा ओलीलाई हेलिकोप्टरमा उडाएर जनसभा गराउने कामदेखि उनलाई ‘हजुरबुवा’सम्म सम्बोधन गर्दै प्रशंसा गर्ने प्रसाईं नै पछि ओलीविरुद्ध उग्र आलोचक बने ।

झण्डै दुई वर्षअघि काठमाडौंमै प्रसाईं समूह र एमाले युवक सङ्गठनबीच आमनेसामने हुने परिस्थिति बनेर बल्खुमा ढुङ्गा हानाहानसमेत भएको घटना त अझै ताजा छ ।

प्रतिक्रिया दिनुहोस्