काभ्रेपलाञ्चोक । बसको ठक्करबाट स्थानीय एक व्यक्तिको मृत्युपछि अवरुद्ध भएको अरनिको राजमार्ग १० घण्टापछि खुलेको छ । बसको ठक्करबाट घाइते भएका पाँचखाल नगरपालिका-४ का तीनधारे माइला भनिने ६५ वर्षीय दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

श्रेष्ठको मृत्युपछि उनका आफन्त र स्थानीयले अरनिको राजमार्ग अवरुद्ध पारेका थिए । बिहीबार दिनभरि अवरुद्ध भएको राजमार्ग साँझबाट सञ्चालनमा आएको छ ।
साँझ अबेरसम्म राजमार्ग नखुलेपछि स्थानीय प्रशासनले सबै पक्षलाई छलफलका लागि धुलिखेल बोलाएको थियो । छलफल सुरु भएपछि सहमति नहुन्जेल अरनिको यातायात प्रालिका बस बाहेक अन्य यातायातका साधन चल्न दिन पीडित पक्ष सहमत भएका हुन् ।
ओभर स्पिडमा रहेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसको ठक्करले श्रेष्ठलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको थियो ।














