काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि वातावरण बनाएर देखाउन प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिएका छन् । शुक्रवार एमालेको युथ भोलिन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै ओलीले सरकारले निर्वाचनको वातावरण बनाउनै नसक्ने भन्दै चुनावी वातावरण बनाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु । तपाईँ अहिले भएका कानुनहरूबाट चुनाव गराउने हो भने खुरुखुरु गराउनुस् न त । शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस् । अपराधीहरूलाई नियन्त्रण गर्नुस्, निर्वाचन योग्य वातावरण बनाउनुस्, म यसको व्याख्या गरिरहन चाहन्न । गराउनुस् न त।’ तर यो सरकारले नसक्ने ओलीले दाबी गरे। ‘तपाईँको मनशाय पनि देखिँदैन,’ उनले भने ।
प्रधानमन्त्रीले दलसँग गरेका वार्ता पनि नाटक मात्रै भइरहेको अध्यक्ष ओलीले बताए । ‘तपाईँले गरेका वार्ता कस्ता छन् ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको अरे ! १२५ वटा पार्टीको कहिले वार्ता,’ उनले भने, ‘यो एमाले, कांग्रेसजस्ता पार्टीहरूलाई अपमान गरेको हो, १२५ वटा पार्टीसँग वार्ता गरेको नाटक गरेर । तमासा गरेर ।’ तर त्यो तमासा हेर्न पनि आफूहरू गइरहेको ओलीले टिप्पणी गरे । ‘यो तमासा हो, तर हामी त्यो तमासा हेर्न पनि गइरहेका छौँ । आफ्ना कुरा पनि भनिरहेका छौँ,’ उनले भने ।
यस्तो तमासा नगरेर देशलाई माया गर्न सिक्न उनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरे । उनले भने, ‘देशलाई माया गर्न सिकौँ। म सुशीला जीलाई भन्न चाहन्छु-देशलाई अरु अनिश्चितता तिर, अरु अशान्ति, अरु अराजकता र बर्बादीतिर लैजान नदिऊँ ।’ त्यसका लागि प्रतिनिधिसभाको अविलम्ब पुनस्र्थापना गरेर त्यहाँबाट समाधान खोज्नुपर्ने उनले बताए ।














