एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको शान्ति योजनाको मस्यौदा प्राप्त गरेपछि आफू अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन्।

अमेरिकी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको अनुसार २८ बुँदाको उक्त मस्यौदामा युक्रेनले अझै नियन्त्रणमा राखेको पूर्वी डोन्बास क्षेत्र रुसलाई हस्तान्तरण गर्नुपर्ने, सेनाको आकार घटाउनुपर्ने, र नेटोमा नजाने प्रतिबद्धता जनाउनुपर्ने जस्ता संवेदनशील प्रस्तावहरू समावेश छन्।
मस्यौदा तयार गर्दा युक्रेनको सहभागिता कति थियो भन्ने स्पष्ट छैन। तर ह्वाइट हाउसकी प्रेस–सचिव क्यारोलिन लेभिटले अमेरिका दुवै पक्षसँग समान रूपमा संवाद गरिरहेको बताएकी छिन्।
जेलेन्स्कीको कार्यालयले भने विज्ञप्ति जारी गरी योजनाका प्रावधानहरूलाई ‘युद्धको न्यायसम्मत अन्त्य’का लागि आधार बनाएर काम गर्न सकिने संकेत दिएको छ।
फाइनान्सियल टाइम्स र एक्सियोसले सार्वजनिक गरेको विवरणअनुसार प्रस्तावमा युक्रेनी सेनाको आकार ६ लाखमा सीमित गर्ने, युरोपेली लडाकु विमानहरू पोल्यान्डमा तैनाथ गर्ने, र युक्रेनलाई भरपर्दो सुरक्षा ग्यारेन्टी दिने व्यवस्था समेटिएको छ तर विस्तृत विवरण खुलाइएको छैन।
यसबाहेक, रुसमाथिका प्रतिबन्ध हटाउँदै उसलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्ने, जी–७ लाई फेरि जी–८ बनाउँदै रुसलाई पुनः समावेश गर्ने प्रस्ताव पनि मस्यौदाले अघि सारेको छ।
जेलेन्स्कीले छिट्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यी प्रस्तावबारे विस्तृत छलफल गर्ने अपेक्षा राखेका छन्। उक्त योजनामा युक्रेनले आफ्ना धेरै हतियार त्याग्नु पर्ने व्यवस्था पनि रहेको जनाइएको छ।
तर, पछिल्लो मस्यौदामा युक्रेनका युरोपेली साझेदारहरू प्रत्यक्ष रूपमा संलग्न नरहेको उल्लेख गरिएको छ।











