काठमाण्डौ । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ।

महानगरपालिकाले २०८० साल जेठ १९ गते सूचना प्रकाशित गर्दै असार १ देखि उपत्यकाबाहिर जाने सबै सार्वजनिक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। तर साढे दुई वर्ष बितिसक्दा पनि यो निर्णय पूर्णरूपमा लागू हुन सकेको छैन।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरले सबै सार्वजनिक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्न पहल गर्दै आएको छ। उनले भने, “निर्णय कार्यान्वयनमा समस्या भए पनि सबै क्षेत्रको सहकार्य र सहयोगले यो प्रक्रिया अघि बढाउन महानगर प्रहरी प्रतिबद्ध छ।”
अहिलेसम्म काठमाण्डौको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक गाडीहरू सञ्चालन हुँदै आएका छन्।
महानगरपालिकाले गोङ्गबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरी लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको थियो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार यातायात व्यवसायीको अटेरीका कारण नयाँबसपार्कबाट सार्वजनिक गाडी सञ्चालन गर्न कठिनाइ देखिएको छ।
सूचना जारी भएपश्चात काठमाण्डौबाट पोखरा, चितवन, बुटवललगायत ठूला तथा माइक्रोबसहरू क्रमशः नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्। मेयर बालेन्द्र शाहको नेतृत्वमा महानगरले चक्रपथ वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले भने, “राजधानीभित्र सार्वजनिक गाडी व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार छन्। यात्रु, व्यवसायी र सरकार सबैका लागि सहज हुने ढंगले सेवा सञ्चालन गर्नुपर्छ।”
अहिले गोङ्गबुस्थित नयाँबसपार्कबाट दैनिक रूपमा लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि सञ्चालन भइरहेका छन्।














