Logo
Logo

आखिर कसको के जल्यो ?


1.1k
Shares

सिहदरबार दन्कीयो भ्रष्ट शासनको
दुर्गन्धित लासले ।
अदालत दन्कीयो किर्ते कलम र
झुट, लुटको कालो कोटले ।
नेताको महल दन्कियो झुपडीका
सपना, सुख, सान्ति र समृद्धिमा
आगो झोस्नाले।

मातृभुमि छोडेर परदेशिएका
लाखौँ युवाहरुको छाती डढेको
शासकले किन देख्न सकेन ?
दिनहुँ लस्कर लाग्ने
बाकसी लासहरु
राज्यले किन रोक्न नसकेको ?

आँसुका मुसलधारे वर्षा र
जवानीमै सिँउदोको सिन्दुर
जलेको सिंहदरबारले किन नदेखेको ?
निर्मला पन्त जस्ता अबोध चेलीको
बलात्कार सँगै हत्या हँुदा
बाउ–आमाका ह्रदय जल्दा
प्रशासनले आँखामा पट्टि
किन बेरेको ?

जिउँदै भट्टामा जलेका नागरिक
सर्वोच्चले किन नदेखेको ?
प्रेम आचार्यले आत्मदाह गर्दा
संसद भवनले किन रोक्न नसकेको ?

पशुपति आर्यघाटमा लामालस्कर
कलिला युवाहरुको लास जलिरहँदा
ती लासको धुवा, राप र तापले
सिंगो देश दनदनी दन्कियो
देश जनताले होइन ।
मुठ्ठीभर शासकको अहँकार र
घमण्डले जल्यो ।

शासकको लुट र झुटको खेतीमा
जनताको ह्रदयमा बारुद भरियो ।
जसको कारण शासकको लंकामा
ज्वालामुखि सहित आगो दन्कियो ।

सिंहदरबार, अदालत र संसद भवन
फेरीपनि उठ्ने छन् ।
जलेको न्याय, जलेको अस्मिता
जलेको सिन्दुर, जलेको मन
जलेको शरीर, जलेका सहिद
कहिले ब्युतने छन् ? कहिले उठ्ने छन् ?

-भुपेन्द्र थापा (माधव)

प्रतिक्रिया दिनुहोस्