Logo
Logo

रुचि र रहरले कलाकारितामा पुर्‍यायो


आरती आचार्य, अभिनेत्री

3k
Shares

अभिनेत्री आरती आचार्य कलाकारितालाई करिअर बनाउन चाहन्छिन् । एक दशकदेखि कला क्षेत्रमा समर्पित गर्दै आएकी आरती मोडलिङ हुँदै फिल्मी अभिनयमा होमिएकी हुन् । हालसम्म उनले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । ‘लभ डायरिज’, ‘सेल्फी किङ’ जस्ता फिल्ममा अभिनय गरेर चर्चामा आएकी आरती भन्छिन्, ‘फिल्मी अभिनयसँगै मोडलिङ पनि गर्दै आएकी छु ।’

फिल्मी क्षेत्रमा सहायक भूमिकामा काम गरेर करिअर सुरु गरेकी उनी ‘आँधी तुफान’ फिल्मबाट लिडरोलमा देखिन थालेकी हुन् । नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार विपिन कार्की, दयाहाङ राई, आँचल शर्मा जस्तो कलाकारसँग स्क्रिन शेयर गरिसकेकी आरती बीबीएकी विद्यार्थी हुन् । पढाइ सँगसँगै कला क्षेत्रमा समर्पित अभिनेत्री आरती आचार्यसँग दृष्टिको जम्काभेट ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

कलाकारिता क्षेत्रमै व्यस्त छु । केही नयाँ प्रोजेक्टका लागि पनि तयारी गर्दैछु । म्युजिक भिडियोहरूमा पनि काम गरिरहेकी छु ।

कला क्षेत्रमा कसरी लाग्नुभयो ?

सानैदेखि फिल्म भन्नेबित्तिकै एकदम मनपथ्र्यो । मम्मी, बुवासँग फिल्म हेर्न जाँदाखेरि आफूले पनि त्यहाँ अभिनय गर्न पाउँदा कतिको रमाइलो हुन्थ्यो भन्ने जिज्ञासा उठ्थ्यो । मैले पनि राम्रो प्रस्तुती दिएँ भने यसरी नै माया पाउँछु होला भन्ने सोच्थेँ । अन्ततः रुचि र रहरले कलाकारितामै पुर्‍यायो ।

कलाकारिता क्षेत्र कस्तो लागिरहेको छ ?

रहर र रुचिले कलाकारितामा लागेकाले रमाइलो नै भइरहेको छ । कामहरू पनि पाइरहेकी छु । यो क्षेत्रमा लागेर साथीभाइ, दर्शकको माया र साथ पाएकी छु । खुसी नै छु ।

तपाईँका लागि अभिनय के हो ?

मेरा लागि अभिनय कुनै एउटा कथाको पात्रलाई नियालेर बुझेर र त्यसलाई हुबहु वास्तविकतामा ढाल्नु हो । त्यो पात्रले समाजलाई कस्तो सन्देश दिइरहेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । मैले पनि कुनै पनि भूमिका निर्वाह गर्दा कथावस्तुको मर्म र भावनामा डुबेर गर्छु, जबकि पात्र र भूमिकाले न्याय पाओस् ।

कला क्षेत्रमा लागेर आम्दानी कतिको गर्न सकिन्छ ?

लामो समयसम्म यसमा लागिरहँदा पनि मैलेचाहिँ भनेको जस्तो पैसा कमाउन सकेको छैन । तर सबैको माया, प्रेम, सद्भाव र आशीर्वाद चाहिँ पक्कै पाएको छु । कतिले प्रश्न गर्छन्-कलाकार भएर पनि बाँच्न सकिन्छ ? तर म भन्छु- सकिन्छ । तर त्यसको लागि निकै श्रम र मिहेनत जरुरत छ ।

नयाँलाई निकै गाह्रो हुन्छ भनिन्छ नि, तपाईँको के छ भोगाइ ?

म कलाकारिता क्षेत्रमा लागेको १० वर्षभन्दा बढी भइसकेको छ । सोही दौडाइका क्रममा मैले मेरो जीवनमा अनेकौँ खालका मानिसहरू पनि भेट्ने अवसर पाएँ । यस मानेमा म आफूलाई भाग्यमानी ठानेकी छु । मैले अहिलेसम्म सबै राम्रा व्यक्तिहरू भेट्ने अवसर पाएँ । हरेक क्षेत्रमा लाग्दा निकै नै गाह्रो हुन्छ । हरेक क्षेत्रमा लगनशील, अनुशासित र मिहेनती हुन सक्यो भने अवश्य गन्तव्यमा सजिलैसँग पुग्न सकिन्छ । सजिलोसँग पुग्दाखेरि यात्रा सहज हुन सक्छ ।

फिल्ममा अभिनय गर्नअघि ट्रेनिङ आवश्यक पर्छ कि पर्दैन ?

कुनै क्षेत्रमा दखल हुनका लागि त्यस विषयमा सूक्ष्म अध्ययन हुनु निकै आवश्यक छ । अध्ययनले झन् बढी मिहेनत गर्न सिकाउँछ । राम्रो कलेज, नाटकघर, इन्स्टिच्युट वा गुरुबाट प्राप्त भएको ज्ञानलाई आफ्नो जीवनमा उतार्न सक्यो भने सफल हुन सकिन्छ । हिजोका दिनमा सिक्ने ठाउँ निकै कम थियो भने आज राम्रो अवसरहरू प्राप्त गर्न सकिन्छ । मैले पनि अभिनय सिकेरै आएकी हुँ ।

कलाकार बन्नलाई कस्तो गुण आवश्यक पर्छ ?

एउटा राम्रो कलाकार बन्नका लागि पहिला त अनुशासित हुनु आवश्यक छ । कसरी बोल्ने ? कसरी हिँड्ने ? हेक्का राख्नुपर्छ । कल्पना गर्ने क्षमता हुनुपर्छ । हरेक कठिन भोगाइबाट सिक्दै अगाडि बढ्नुपर्छ । सिक्ने चाहना बढाउनुपर्छ ।

केही कलाकार राजनीतिमा होमिएका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

कलाकारले आफ्नो कलाकारिता पेशा नै अंगाल्दा राम्रो हुन्छ । एउटा कलाकारमा पनि नेतृत्व गर्ने कला हुनु आवश्यक छ । जसले गर्दा त्यो क्षेत्रमा उसले योगदान पु¥याउन सक्छ । देशमा पनि असल नेतृत्वको आवश्यक छ । राम्रो नेतृत्वले देश बन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म फिल्मी क्षेत्रमै करिअर बनाउन चाहन्छु । त्यसैले मलाई दर्शकको माया र हौसलाको आवश्यक छ । दर्शकलाई मेरो आग्रह– मलाई माया, साथ र हौसला दिनुस्, म तपार्इँहरूकै हौसलाले अघि बढ्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्