काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, आइतबार भने बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ३९.९२ अङ्क बढेर २६००.२२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.०५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अङ्क बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३३४ स्टकको ७६ हजार २८ पटकको कारोबारमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ७.६५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ३४ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत् कम्पनीको करिब २२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढेका छ भने बैंकिङ्ग, विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।











