Logo
Logo

राम-सीताको विवाह उत्सवमा जनकपुर रौनकमय


252
Shares

जनकपुरधाम । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न राम-सीताको दिव्य विवाहको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व हर्षोल्लाससाथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा रहेका मन्दिर, सरोवर र रङ्गभूमि आज बिहानैदेखि श्रद्धालुले भरिएका छन्।

The current image has no alternative text. The file name is: bibah-panchami.jpg

जनकपुरधामको ऐतिहासिक १२ बिघा रङ्गभूमि मैदानमा राम–सीताको स्वयम्बर विधिपूर्वक अघि बढिरहेको छ। अयोध्याबाट पाँच वर्षपछि फेरि साधु–सन्यासीसहितको जन्ती आउनुले यस वर्षको महोत्सव विशेष रौनकपूर्ण बनेको छ। राम र जानकीका डोला शहर परिक्रमा गराउँदै राति जानकी मन्दिरमा वैवाहिक संस्कार सम्पन्न गरिनेछ।

मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयम्बरदेखि विवाहसम्मका सबै पौराणिक विधि झाँकी, बाजागाजा र रामलीलासहित गरिँदैछन्। जनकपुर, बर्दिबास, मटिहानी, गौशाला, बलवासहितका क्षेत्रबाट भक्तजन ठसाठस भरिएका बसमा महोत्सवस्थलतर्फ निरन्तर ओइरिन्छन्।

पौराणिक कथाअनुसार जनकले राखेको शिवधनुष भाँचेर रामले सीतासँग विवाह गरेका थिए। यही दन्त्यकथाको प्रतीकस्वरूप रङ्गभूमिमा आज पनि वर–बधुपक्षका झाँकी, हाँसो–ठट्टा र लाखौँ श्रद्धालुको उपस्थिति वास्तविक विवाहको जस्तै दृश्य बनाउँछ।

राति हुने मुख्य विवाह समारोहमा राम–सीताको डोला शोभायात्रामा भारत–नेपालका सीमावर्ती क्षेत्रका भक्तजन ठूलो संख्यामा सहभागी हुने अपेक्षा छ। जनविश्वासअनुसार यस महोत्सवमा सहभागी हुनुले मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने मान्यता छ।

प्रतिक्रिया दिनुहोस्