काठमाडौं । मङ्गलवार नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ५.३२ अङ्क बढेर २६५५.९९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३१९ स्टकको १ लाख २ हजार ६४२ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.९६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ ।











