काठमाडौं । डेथ ओभरमा कप्तान करण केसी चम्किएपछि काठमाण्डुले गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु एक सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलवार पहिले ब्याटिङ गरेको काठमाण्डुले आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको हो । काठमाण्डुका कप्तान करण केसी ३४ रनमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे ।
ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए । ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर्टको हातबाट क्याच आउट हुन पुगे ।
त्यस्तै, १६ बलमा दुई छक्का प्रहार गरेका सन्तोष यादवले २६ रन बनाउँदा रुवेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट नै भए । मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन थप्दै पेभेलियन फर्के ।
रसिद खानले १४ रन थपे। जोन सिम्सन सात र वेन चार्ल्सवर्थ शून्य रनमा नै आउट भए। मोहम्मद आदिल आलम चार रन बनाउँदा क्याच आउट भए । लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले दुई–दुई विकेट लिए ।











