काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा आगामी नेतृत्व को हुने भन्ने बहस तीव्र बनेको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी चलिरहँदा शीर्ष नेताहरू नेतृत्व कब्जा गर्ने दौडमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्र महाधिवेशनको बहस अचानक बढेको छ । यससँगै पार्टी विभाजनपछि लामो समयदेखि एकछत्र राज गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने नयाँ शक्ति जन्मिने संकेत देखिएको छ । तेस्रोपटक आफैं अध्यक्ष भएर राजीतिक परिस्थिति सम्हाल्ने, पार्टी बनाउने र देश अगाडि बढाउने ओलीको चाहनामा पनि ‘ब्रेक’ लाग्न सक्ने देखिएको छ ।
पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्पष्ट साथ छ । पार्टी केन्द्रीय कमिटीले भण्डारीलाई सदस्य बन्न रोकिदिएपछि महाधिवेशनबाट अध्यक्ष बन्ने त्यसको आकांक्षा टुटेको थियो । तर महाधिवेशनमा उनी संरक्षकका रूपमा पोखरेल नेतृत्वको समूहलाई ओलीविरुद्ध उभ्याउने तयारीमा छन् ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेललाई पार्टीका धेरैजसो पदाधिकारीको समर्थन मिल्ने अनुमान छ । ओलीको ‘विकल्प खोज्नुपर्ने’ मत राख्नेहरूमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट अग्रसर देखिएका छन् । उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुव्वा गुरुङ भने अहिलेसम्म कुनै पक्षामा पनि खुलिसकेका छैनन् ।
पौडेल र गुरुङ पोखरेल समूहतिर ढल्किने अनुमान भए पनि यो अझै निश्चित छैन । पौडेल विगतमा सबै निर्णायक मोडमा ओलीकै पक्षमा उभिँदै आएको पृष्ठभूमि भएकाले उनी ‘यूटर्न’ लिने सम्भावना न्यून मानिन्छ । तर, महासचिव शंकर पोखरेललाई ओलीले प्राथमिकता दिए उनी ओलीतिरै खुल्ने नत्र पोखरेल समूहतिर लाग्ने बताइन्छ ।
अध्यक्ष ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र गुरु बराल खुला रूपमा उभिएका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि ओली लाइनमै छन् । सचिव लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठ ओली पक्षमा देखिए पनि छविलाल विश्वकर्मा भने तटस्थजस्तै छन् । महासेठ भने पोखरेल समूहमा लाग्न सक्ने बताइन्छ । विश्वकर्मा र अर्याल भने पौडेल जता लाग्यो उतै जाने सम्भावना रहेको छ ।
एमालेको परिवर्तित विधान अनुसार अब बन्ने एमाले केन्द्रीय पदाधिकारी सङ्ख्या १५ मात्र हुनेछ । यसअघि १९ सदस्यीय पदाधिकारी रहेको एमालेमा गत विधान महाधिवेशनले गरेको विधानको व्यवस्था अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना निर्वाचित हुनेछन् । यस्तोमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट पदाधिकारीमा नयाँ अनुहारलाई समेट्ने प्रयास गर्दै छन् ।
त्यमध्ये महेश बस्नेत, भानुभक्त ढकाल, सूर्य थापा र रामकुमारी झाँक्रीलाई सचिव बनाउने ओलीको तयारी छ । पोखरेल पक्षले भने कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतलाई पदाधिकारीमा उठाउने बताइएको छ ।
तर पोखरेललाई नेतृत्व कब्जा गर्न सहज छैन । मंसिर १३ गते जिल्लाबाट छनोट भई आउने महाधिवेशन प्रतिनिधिमध्ये ५० प्रतिशतभन्दा बढीले समर्थन गरे मात्र उनी अध्यक्ष बन्ने बाटो खुल्नेछ ।
पोखरेल लामो समय नेतृत्वसँग ‘समदूरी’ राखेर काम गर्ने नेता मानिन्छन् । ९औं महाधिवेशनमा माधव नेपाल समूह त्यागेर ओली समूहबाट महासचिव बनेका उनी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए । तर पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याउन जोडबल गरेका पोखरेल अहिले ओलीका आलोचक बन्न पुगेका छन् र अध्यक्ष ओलीलाई प्रतिस्थापन गर्ने मुख्य अभियानकर्ता समेत बनेका छन् ।











