एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय तत्कालै कार्यान्वयन गर्न आदेश दिएको छ। उनीमाथि निर्वाचनमा पराजयपछि सत्ता उल्ट्याउने र प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको अभियोग प्रमाणित भएको अदालतले जनाएको छ ।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार मुद्दाको अन्तिम टुङ्गो लागिसकेको छ र अब पुनरावेदनको कुनै सम्भावना छैन । साथै बोल्सोनारोलाई पूर्ण समय स्वास्थ्य सेवा उपलब्ध गराउन समेत आदेश गरिएको छ । उनको स्वास्थ्य विग्रँदै गएको बताउँदै चिकित्सकहरूले विशेष निगरानी आवश्यक रहेको बताए ।
७० वर्षीय बोल्सोनारो राजधानी ब्रासिलियाको जेलमा सजाय भोग्न जानेछन् । उनी गत शनिबारदेखि नै हिरासतमा छन्। सार्वजनिक पदमा सन् २०६० सम्म उमेदवारी दिन नपाउनेगरी प्रतिबन्धित बोल्सोनारोले भने यी सबै कार्य आफूलाई २०२६ को चुनावबाट रोक्न गरिएको दाबी गरेका छन् ।
घरमै नजरबन्दमा रहँदा ‘एङ्कल मनिटर’ खोल्ने प्रयास गरेको आरोपमा उनलाई हिरासतमा लिइएको थियो। उनले मनिटर हटाउने प्रयास स्वीकार गरे पनि भाग्ने कुनै मनसाय नभएको बताएका छन् ।











