Logo
Logo

इमरान खानको स्वास्थ्यसम्बन्धी अफवाह फैलिएपछि…


945
Shares

काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले जेलमा रहेका आफ्ना संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यसम्बन्धी बढ्दै गएको ‘अफवाह’ का बीच उनको सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकारसमक्ष माग गरेको छ।

The current image has no alternative text. The file name is: Imran-khan.jpg

पार्टीले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उहाँको परिवारबीच छिटोभन्दा छिटो भेटको व्यवस्था मिलाउन पनि माग गरेको छ। हालैका दिनहरूमा इमरान खानका बहिनीहरूलाई अडियाला जेलमा भेट्न अनुमति नदिँदा परिवारजन र समर्थकहरूबीच गम्भीर चिन्ता बढेको छ ।

बहिनीहरूलाई उनको वास्तविक अवस्थाबारे सोधपुछ गर्न र जेल प्रशासनले स्पष्ट धारणा नदिएकाले सुविधा बाहिरै धर्ना दिन समेत आग्रह गरिएको थियो ।

डनका अनुसार यी सबै शङ्का सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका अप्रमाणित दाबीसँग जोडिएका छन् । केही भारतीय सञ्चारमाध्यमले समेत इमरानको स्वास्थ्य र सम्भावित निधनसम्बन्धी आधारहीन समाचार दिएपछि ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ ह्यासट्याग बिहीबार बिहान प्लाटफर्ममा व्यापक रूपमा ट्रेन्ड भएको थियो ।

एक्समै जारी गरिएको विज्ञप्तिमा पीटीआईले ‘अफगान तथा भारतीय मिडिया र विदेशी सामाजिक मिडिया खाताहरूबाट इमरान खानको अवस्थाबारे घृणास्पद प्रकृतिका अफवाह फैलाइएको’ आरोप लगाएको छ ।

पार्टीले वर्तमान सरकार र गृह मन्त्रालयले यी सबै दाबीलाई तुरुन्तै खण्डन गर्न, तथ्यसहित जनतालाई जानकारी गराउन तथा परिवारसँग तुरुन्तै भेटको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पार्टीले भनेको छ, ‘इमरान खानको स्वास्थ्य, सुरक्षा र वर्तमान स्थितिसम्बन्धी राज्य पक्षबाट पारदर्शी र आधिकारिक विवरण सार्वजनिक हुनु अनिवार्य छ ।’ 

साथै यस्तो संवेदनशील विषयमा अफवाह फैलाउनेहरूको छानबिन गरी सत्य बाहिर ल्याइनुपर्ने मागसमेत पार्टीले गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रले आफ्ना नेताको अवस्थाबारे कुनै पनि अनिश्चितता सहन सक्दैन ।’

पीटीआईले पुनः सरकारलाई ‘इमरान खानको सुरक्षा, मानवअधिकार र संवैधानिक अधिकारको रक्षा सुनिश्चित गर्न’ स्मरण गराउँदै आफूहरू सत्यको खोजीमा प्रत्येक कानुनी र राजनीतिक विकल्प प्रयोग गर्न तयार रहेको बताएको छ।

पार्टी नेत्री मेहर बानो कुरेसीले पनि इमरान खानसम्बन्धी अफवाहलाई अत्यन्त चिन्ताजनक बताउँदै एक्समा लेखेकी छन्, ‘खान साहेबको सुरक्षाको पूर्ण जिम्मेवारी सरकारकै हो र राष्ट्रलाई अद्यावधिक जानकारी दिनु यसको कर्तव्य हो ।’

उनले इमरान खानका बहिनी, वकिल तथा पार्टी नेताहरूलाई भेट्न अनुमति दिनु नै ‘सबैभन्दा विश्वसनीय र पारदर्शी उपाय’ भएको उल्लेख गरेकी छन्।

यसबीच, रक्षामन्त्री ख्वाजा आसिफले बढ्दो अनुमानबारे टिप्पणी गर्दै एउटा पुरानो भिडिोको सन्दर्भ दिएका छन्, जसमा इमरान खानले पूर्वप्रधानमन्त्री नवाज सरिफले जेलमा सुविधा मागेको भन्दै आलोचना गरेका छन् । आसिफले इमरानकै जेल कोठामा ‘टेलिभिजन, बाहिरबाट ल्याइने भोजन तथा व्यायामका मेसिनहरूको व्यवस्था रहेको’ दाबी गरेका छन् ।

आफू जेलमा हुँदा कम्बल अभाव र तातो पानी नपाई चिसो भुईँमा सुत्नुपरेको अनुभव सुनाउँदै उनले भनेका छन्,’इमरानलाई दोहोरो ओछ्यान र मखमली सिरक उपलब्ध छ, जेल सुपरिटेन्डेन्टले व्यक्तिगत रूपमा हेरचाह गर्छन् ।’

आसिफले यसअवस्थालाई व्यङ्ग्य गर्दै अगाडि भनेका छन्, ‘इमरान खानले जेलको लाउडस्पीकरमै आफ्ना भाषण सुन्नुपर्छ, उहाँले भगवानसँग डराउनुपर्छ ।’ 

७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि हिरासतमा छन् र हाल १९ करोड पाकिस्तानी रुपैयाँको भ्रष्टाचार मुद्दामा अडियाला जेलमा छन्।

सन् २०२३ मे ९ को घटनासँग सम्बन्धित आतङ्कवादविरोधी ऐनअन्तर्गत उनीविरुद्ध थप मुद्दासमेत दायर गरिएका छन् ।उनको स्वास्थ्य र सुरक्षाबारे पीटीआईले निरन्तर चिन्ता व्यक्त गर्दै आएको डनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्