कपिलवस्तु । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायलाई लक्षित गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै कपिलवस्तुको तौलिहवामा मुस्लिम अगुवाहरूले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीले तत्कालै अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्री कार्कीले महिला हिंसाविरुद्ध १६ दिने अभियानको शुभारम्भको दिन मुस्लिम महिलाको मानमर्दन हुने गरी दिएको अभिव्यक्ति खेदजनक रहेको उनीहरूको भनाइ छ ।
प्रधानमन्त्रीको अभिब्यक्तिले मुस्लिम महिलाको मर्यादा र पहिचानमा प्रहार गरेको, मुस्लिम समुदायलाई गलत रूपमा चित्रित गरेको र राष्ट्रको बहुलबादी मूल्यमाथि नै प्रहार भएको आरोप कांग्रेस नेता अतहर कमालको छ ।
मुस्लिम अगुवा रउफ अहमद खा र हजरत अलीलले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको र यसलाई सच्चाउनु पर्ने माग गरे । प्रदर्शन पछि उनीहरूले प्रजिअ जर्नादन गौतममार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।














