
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक गिनी–बिसाउमा सेना प्रमुख होर्टा इन्टा–ए अन्तरिम राष्ट्रपति बनेका छन् ।
राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुनुभन्दा एक दिन अगाडि सत्ता कब्जा गरेर सैनिकहरूले मेजर–जनरल होर्टा इन्टा–एलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन् ।
अपदस्थ राष्ट्रपति उमारो सिसोको एम्बालोलाई क्षेत्रीय संगठनको हस्तक्षेपपछि विशेष उडानमार्फत सेनेगल पठाइएको सेनेगलको विदेश मन्त्रालयले जनाएको छ ।
पछिल्ला पाँच वर्षमा पश्चिम र मध्य अफ्रिकामा भएको यो नवौं सैनिक कू हो ।
कोकिन तस्करीको प्रमुख ट्रान्जिट केन्द्र मानिने गिनिया–बिसाउ लामो समयदेखि राजनीतिक अस्थिरताको चपेटामा पर्दै आएको छ ।
सैनिक समूहले आफूलाई ‘हाइ मिलिटरी कमाण्ड फर द रेस्टोरेसन अफ अर्डर’ नाम दिएर टेलिभिजनमार्फत सत्ता कब्जा गरेको घोषणा गरेको थियो ।
सेनाले राजनीतिज्ञ र लागुऔषध तस्कर संलग्न कथित षड्यन्त्रलाई कूको कारण बताएका छन् ।











