Logo
Logo

सेनालाई चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्रीको निर्देशन


756
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एक थोपा पनि रगत नबगोस्, एक जना पनि घाइते नहोउन् भन्ने स्पष्ट सन्देशसहित नेपाली सेनालाई निर्वाचनमा लाग्न निर्देशन दिएकी छिन् । बिहीबार जङ्गी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे विस्तृत ब्रिफिङ लिँदै यस्तो निर्देशन दिएकी हुन् । 

The current image has no alternative text. The file name is: susila-6.jpg

‘मैले पहिलेदेखि नै भन्दै आएकी छु-यो निर्वाचनमा कुनै पनि प्रकारको हिंसा हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतका निर्वाचनका अनुभव, वर्तमान सुरक्षा चुनौती र आसन्न निर्वाचनका सबै आयामलाई विश्लेषण गरी सुरक्षा निकायहरूबीच पूर्ण समन्वयमा शून्य त्रुटिको सुरक्षा योजना कार्यान्वयन गर्नुहोस् ।’ उनले जनतामा सुरक्षाको अनुभूति दिलाउन, प्रहरी कारबाहीलाई सहजीकरण गर्न, सबै राजनीतिक दलका गतिविधिलाई निर्बाध रूपमा सञ्चालन हुने वातावरण बनाउन तथा स्पष्ट कार्य योजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देश दिएकी हुन् ।

साथै, ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका तथा हराएका हातहतियारको खोजी, फरार अपराधीहरूको पक्राउ र समग्र सुरक्षा स्थिति सामान्य बनाउन प्रहरीसँग निरन्तर सहकार्य गर्न पनि उनले सेनालाई आग्रह गरिन् । निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती, निर्वाचन सुरक्षा रणनीति तथा सेना परिचालनको विस्तृत योजना प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपछिको सङ्क्रमणकालीन सरकारको प्रमुख दायित्व यही फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको स्मरण गराउँदै नेपाली सेनाले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्