काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयमा छलफल आज स्थगित भएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले औपचारिक पत्रबिना बैठकमा नबस्ने बताउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा उनीहरू उपस्थित भएनन् ।

पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता भइसकेको र त्यस विषयमा औपचारिक रूपमा पत्र पठाइएपछि मात्र छलफल हुनुपर्ने पक्षधर नेताहरूको माग छ । विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले भने, ‘अहिलेसम्म पार्टीले कुनै औपचारिक छलफल गरेको थिएन । कार्यवाहक सभापतिले मौखिक रूपमा बोलाउनुभयो। तर विशेष महाधिवेशनको माग दर्ता भएको भएकाले औपचारिक पत्र मार्फत बोलाइयोस्, पठाइयोस्, अनि मात्र हामी संवादमा बस्छौँ।’
उनले विशेष महाधिवेशनबारे मात्रै छलफल हुनुपर्ने र नियमित महाधिवेशनको विषय उठाउनु नहुने पनि स्पष्ट पारे।
उता सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा समझदारी जुटाउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन् । छलफलमा निर्वाचनअगाडि महाधिवेशन नगर्न अडानमा रहेका नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पनि सहभागी छन्।
हालसम्म कुनै निष्कर्ष निस्किएको छैन । महामन्त्रीहरू निर्वाचनअगाडि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्षको बहुमत निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । संस्थापन पक्षका २८ केन्द्रीय सदस्यले भने निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने सुझाव दिएका छन्।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीले औपचारिक रूपमा एजेन्डाका विषयमा छलफल नगरेको गुनासो गर्दै आएका थिए ।














