Logo
Logo

ईश्वर पोखरेलको घोषणाले आत्तिए ओली, गुन्डुबाट फैलाउन थाले ‘भ्रम’


25k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि आगामी ११औं महाधिवेशन चुनौतीपूर्ण बन्दै गएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि ओली दबाबमा परेका छन् ।

विधान संशोधनमार्फत तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजिरहेका ओलीलाई पोखरेलको कदमले चुनौती दिएको छ । भदौ २३–२४ को जेनजी आन्दोलनले उठाएको ‘नेतृत्व परिवर्तन’को एजेण्डालाई पनि पोखरेल समूहले जोडतोडका साथ महाधिवेशनमा लिएर जाने तयारी छ ।

जेनजी आन्दोलनपछि बसेको केन्द्रीय कमिटी बैठकमै पोखरेल-भण्डारी पक्षका केही नेताहरूले खुला रूपमा ओलीको राजीनामा मागेका थिए । तत्काल राजीनामा नदिए महाधिवेशनमै ‘परिवर्तन’को लडाइँ लडिने संकेत त्यतिबेलै दिइएको थियो ।

ओली पक्षका केही प्रमुख नेताहरू पनि क्रमशः पोखरेलतर्फ आकर्षित हुन थालेपछि अध्यक्ष ओलीले यसलाई ‘संकटको शुरुवात’ का रूपमा लिएका छन् । यही कारण उनको सचिवालयबाट ‘भ्रमपूर्ण सूचना’ प्रवाह गर्न थालिएको आरोप लाग्न थालेको छ ।

शुक्रबार गुन्डुबाट ‘ओलीलाई समर्थन’ गर्दै सात जना पदाधिकारीले सामूहिक रूपमा निर्णय गरेको सूचना प्रवाह गरिएको थियो । तर सो सूचनामा नाम राखिएका नेताहरू भने त्यत्तिबेला काठमाडौंमै थिएनन् ।

सचिव रघुवीर महासेठ जनकपुरमा, सचिव लेखराज भट्ट धनगढीमा र सचिव पद्मा अर्याल बिरामी भएर घरमै आरामरत थिए । त्यसै केही नेताहरूले आफू सहभागी नभएको बैठकको नाममा एकतर्फी सूचना प्रवाह गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यी नेताले आफूहरू ओलीको पक्षमा होइन, ‘तेस्रो समूह’मा रहेको स्पष्ट पारेका छन् । स्रोतका अनुसार, तेस्रो समूहलाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद दिने हो भने मात्र उनीहरू ओलीतिर उभिने सन्देश शुक्रबारै पठाइएको थियो। तर त्यही सन्देशलाई ‘ओली पक्ष विस्तार’ रूपमा प्रचार गरिएको उनीहरूको आरोप छ ।

सचिव महासेठ पछिल्लो समय ओलीसँग असन्तुष्ट छन् । उनी अहिलेसम्म आफ्नो कित्ता खुलाइसकेका छैनन् । सचिव छविलाल विश्वकर्मा भण्डारी–पोखरेल खेमासँग नियमित संवादमा छन् । उपाध्यक्ष विष्णु पौडेल भने महाधिवेशन नजिकिएपछि मात्रै खुला कित्ता गर्ने रणनीतिमा छन् ।

पोखरेल समूहले पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ, जसले ओली पक्षको संकट थप गहिर्याउने बुझाइ छ । पाण्डे पार्टी संगठनमा बलियो पकड भएका मानिन्छन्। यदि ओलीले शंकर पोखरेललाई अघि सारे भने पोखरेल समूह भट्टराई वा विष्टमध्ये एक जनालाई उठाउने तयारीमा छ।

रणनीति बदल्न बाध्य पोखरेल
महाधिवेशनमा आफू विरोधी प्यानल बन्न नदिन ओली सक्रिय भएपछि पोखरेल समूहले प्यानल घोषणा रणनीतिक रूपमा केही पर सार्न बाध्य भएको स्रोत बताउँछ ।

मंसिर १३ सम्म प्रतिनिधि छनोट सकिनुअघि कुन–कुन नेता आफ्नो पक्षमा छन् भन्ने नखुलाउने पोखरेलको रणनीति छ। कारण-नाम खोलिए प्रतिनिधि छनोटमै ओली पक्षले ‘अवरोध’ खडा गर्न सक्छ भन्ने आशंका।

जेनजी आन्दोलनपछि उदाएको ‘ओलीविरुद्धको माहोल’ लाई पोखरेल समूहले आफ्नो पक्षमा मोड्न प्यानल बनाउने तयारी गरिरहेको छ। ओली समूहभित्रका केही नेताले पनि पोखरेल प्यानल बनेमा ‘एक-दुई पदाधिकारी त पोखरेल समूहबाटै जाने’ स्वीकारेका छन्।

ओलीले विगतमा मदन भण्डारी फाउन्डेसनमार्फत आन्तरिक शक्ति विस्तार गर्दै आएका थिए । तर भण्डारीसँग सम्बन्ध बिग्रिएपछि फाउन्डेसनमा समेत पोखरेल समूह प्रभाव जमाउन लागेको देखिन्छ। त्यसैबीच प्रचण्ड–माधव समूहमा रहेका ‘१० भाइ’ नेतृत्व पनि अहिले पोखरेलतर्फ झुकिरहेको छ।

पार्टीभित्र मात्र होइन, बाहिरको राजनीतिक माहोल पनि ओलीविरुद्ध नै देखिँदै गएको विश्लेषण अगाडि आउन थालेको छ।

प्रतिक्रिया दिनुहोस्