एजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीमा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ७० हजार नाघेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७० हजार १ सय मानिस मारिएका छन् । यसमध्ये ३ सय ५० भन्दा बढी मानिस अक्टोबर १० मा भएको युद्धविरामपछि मरेका हुन् ।

बीबीसीले जनाएको छ कि अक्टोबर १० को युद्धविरामपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ। इजरायलले युद्धविराम उल्लङ्घनको जवाफमा हवाई आक्रमण जारी राखेको छ र अझै पनि धेरै शव भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ।
हिजो इजरायली ड्रोन आक्रमणमा दुई दाजुभाइ फादी र जुमा अबु असी मारिएका छन् । उनीहरूको परिवारले दाउरा सङ्कलन गर्ने क्रममा दाजुभाइ मारिएको जानकारी दिएका छन् । इजरायली रक्षा बल आईडीएफका अनुसार उनीहरूले ‘पहेँलो रेखा’ पार गरेका थिए, जुन रेखा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायली सेनाले फिर्ता हुन सहमति जनाएको सीमा हो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गर्दै १ हजार २ सय जनाको हत्या र साढे २ सयभन्दा बढीको अपहरण गरेपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । यी आक्रमणका कारण गाजा शहर अहिले खण्डहरमा परिणत भएको छ।











