Logo
Logo

सही नेतृत्व छान्नुहोस्,समृद्ध नेपाल सम्भव छ: कुलमान


315
Shares

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन अब योग्य र नयाँ सोच भएको नेतृत्व चयन गर्ने उपयुक्त समय आएको बताएका छन् । आइतबार धरानमा सम्पन्न चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ विचार र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

The current image has no alternative text. The file name is: kulman_Ghising.jpg

उनले यो अवसर गुमाए मुलुक रूपान्तरणको बाटोमा अघि बढ्न नसक्ने चेतावनीसमेत दिए । घिसिङले आपसी गालीगलौज र आरोप–प्रत्यारोपको राजनीतिबाट देश नबन्ने भन्दै एकता र सहकार्यलाई अघि बढाउनुपर्ने बताए । उनले भने, ‘हामी एकअर्कालाई गाली गरेर होइन, हातेमालो गरेर अघि बढ्नुपर्छ। सबै एकजुट भए मात्र देश समृद्धिको बाटोमा दौडिन सक्छ ।’

आगामी निर्वाचनलाई उनले देश परिवर्तनको सबैभन्दा ठूलो अवसरका रूपमा चित्रण गरे । जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गर्दै उनले भने, ‘नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान सही नेतृत्व आवश्यक छ । सही व्यक्ति सही समयमा सही ठाउँमा पुग्यो भने मात्र विकासले गति लिन्छ ।’  राजनीतिक परिवर्तन एक्लैले देश नबन्ने उनको भनाइ छ ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाहरूलाई रोजगारी सिर्जना नभई वास्तविक समृद्धि सम्भव नहुने उनको भनाइ छ । ‘राजनीति फेरिँदैमा देश बन्दैन, प्रणाली बलियो हुनुपर्छ । युवालाई रोजगारी र अवसर नदिएसम्म समृद्धिको सपना अधुरै रहन्छ,’ घिसिङले भने । वर्तमान सरकारको मुख्य जिम्मेवारी आगामी निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु रहेको उल्लेख गर्दै उनले सबै दल र पक्षलाई स्थिरता र विकासका लागि सहकार्य गर्न आह्वान गरे ।  

प्रतिक्रिया दिनुहोस्