काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार, घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । तर, बजारमा त्यसले कुनै प्रभाव पार्न सकेन । केन्द्रीय बैङ्कले सेयरबजारसम्बन्धि कुनै हेरफेर नगरेपछि समीक्षाको प्रभाव बजारमा नपरेको हो ।
सोमबार नेप्से परिसूचक ४.२८ अङ्क घटेर २६४५.२४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२५ स्टकको ६० हजार ६२० पटकको कारोबारमा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सागर डिष्टिलरीको सेयर निरन्तर १७ औँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, ग्रीन भेन्चर्सका सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८-८९ को मूल्य सर्वाधिक ९.५१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको करिब साढे १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । विकास बैङ्क, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अङ्क बढेको हो ।











