काठमाडौं । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि डोटीमा महाधिवेशन प्रतिनिधिको समानान्तर सूची सार्वजनिक भएको छ । जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग-अलग सूची सार्वजनिक गरेका हुन् । संस्थापन इतरतर्फ उभिएका अध्यक्ष मलासीको सूचीप्रति असहमति जनाउँदै संस्थापनतिर लागेका सचिव भट्टले छुट्टै सूची तयार पारेका हुन् ।

अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुला तर्फका प्रतिनिधि चयन भएका छन् । महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल छन् भने दलित तर्फ सिता बिक र धनबहादुर नेपाली छन् । ४० वर्ष मुनिका युवा तर्फ बमबहादुर बम चयन भएका छन् ।
जिल्ला सचिव भट्टको सूचीमा खुलातर्फ सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट, महिला तर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवा तर्फ खेमबहादुर घर्तीलाई चयन गरिएको छ । भट्टलाई जिल्ला इन्चार्ज गौरी ओलीले साथ दिएको दाबी गरिएको छ ।
अध्यक्ष मलासीले निर्वाचन अधिकृतले सार्वजनिक गरेको सूची नै प्रतिनिधिको आधिकारीक भएको बताएकी छन् । सचिव भट्टले नजानेर दोस्रो सूची बनाएको बताउँदै फिर्ता गरिसकेको उनको दाबी छ ।
उनले प्रतिनिधि चयनमा विवाद नभएको र यो पक्ष अर्को पक्ष भन्ने पनि केही पनि नभएको बताइन् । साथै उनले प्रतिनिधि चयनको अधिकार नै सचिवलाई नै दिएको बताइन् । उनले आफूले गरेको निर्णय प्रदेशमा पठाइसकेको बताइन् ।
सचिव भट्टले भने अध्यक्षले एकलौटी गर्दै आफू अनुकूल प्रतिनिधि चयन गरेपछि अर्को सूची सार्वजनिक गर्नुपरेको दाबी गरेका छन् । अध्यक्षबाट प्रतिनिधिमा बिना सहमती एकलौटी नाम घोषणा गरिएको र यो कुरामा सुरुबाटै आफूले विरोध जनाएको सचिव भट्टको भनाइ रहेको छ । उनले आफ्नो असहमतिबीच उपसचिवलाई माइन्युट गर्न लगाएर गरिएको एकलौटी निर्णयमा आफ्नो हस्ताक्षर समेत नरहेको बताएका छन् ।
भट्टले दोस्रो पटक सार्वजनिक गरिएको प्रतिनिधिको सूचि नै आधिकारिक भएको दाबी समेत गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले भने जिल्ला कमिटीबाट प्राप्त भएका दुवै सूचीलाई निर्णयका लागि माथिल्लो कमिटीमा पठाएको छ ।













