Logo
Logo

भारतमा हरेक स्मार्टफोनमा ‘सञ्चार साथी’ सुरक्षा एप अनिवार्य


315
Shares

एजेन्सी । भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि–इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ ।

रोयटर्सका अनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्ने र यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ ।

भारतको सञ्चार मन्त्रालयले एप्पल, सामसङ, भिभो, ओप्पोदेखि साओमीजस्ता स्मार्टफोन निर्माता कम्पनीहरूलाई ९० दिनभित्र निर्णय कार्यान्वयन गरिसक्न निर्देशन दिएको छ ।

बजारमा उपलब्ध फोन वा गोदाममा रहेका मोडलहरूमा पनि सिस्टम अपडेटमार्फत ‘सञ्चार साथी’ एप इन्स्टल गराउन भनिएको रोयटर्सले जनाएको छ ।

भारतमा ‘सञ्चार साथी’ यसै वर्षको जनवरीमा सार्वजनिक गरिएको थियो । यो एपले प्रयोगकर्तालाई हराएका वा चोरी भएका मोबाइल ट्र्याक वा ब्लक गर्न मद्दत गर्छ ।

सरकारका अनुसार लञ्चयता एपको प्रयोगले ७ लाखभन्दा बढी हराएका मोबाइल फेला पारिएको छ । अक्टोबर महिनामा मात्रै ५० हजार हराएका मोबाइल फिर्ता गरिएका थिए । भारतका सरकारी अधिकारीहरूले यो एपलाई देशव्यापी साइबर फ्रड, आईएमईआई दुरुपयोग र अन्य साइबर दुरुपयोग नियन्त्रण गर्ने रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन् ।

सञ्चार साथीमार्फत आईएमईआई ब्लक हुँदा चोरी भएको वा हराएको मोबाइलले नेटवर्क एक्सेस नै पाउन छाड्ने बताइएको छ । वार्षिक रूपमा लगभग १६ करोड नयाँ स्मार्टफोन आयात वा उत्पादन हुने भारतमा यसलाई साइबर सुरक्षासम्बन्धी अत्यन्त ठूलो सरकारी कदमको रूपमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्