काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक करिब स्थिर रहेको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्सेले आज भने करिब स्थिर रहेको हो ।

मंगलबार नेप्से परिसूचक ०.५३ अंक घटेर २६४४.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।
मंगलबार कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२४ स्टकको ५६ हजार ९ पटकको कारोबारमा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ८ लाख १० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको ग्रीन भेन्चर्सको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । बाँकी उपसमूहको परिसूचक सामान्य घटेको हो ।











