Logo
Logo

महिला हिंसाका दोषीलाई कडा कारबाहीको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असोज । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको स्थितिमा पनि महिलामाथि हिंसा र बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना, एसिड आक्रमणजस्ता अपराधका घटनामा कडा कारबाहीको माग गरेको छ । सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडागरी लोकतान्त्रिक गणतन्त्र र संघीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो ।
सञ्जालका अध्यक्ष सावित्रा भुसालसहित टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मंगलबार अलग–अलग भेटी ध्यानाकर्षण गराएका हुन् । सो पत्रमा गम्भीर प्रकृतिका घटनाको निष्पक्षरूपमा छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
सो अवसरमा सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण, विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्