सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेतृत्वबाट राजीनामा दिएका छन् । उनले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

हाल प्रचण्डसँग दूरी बढाएका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ उन्मुख भएका कारण माओवादीले उनलाई कारबाही गर्ने तयारी गरेको थियो । तर उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
यसैबीच वीरेन्द्रनगरमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले शर्मामाथि कारबाहीको निर्णय नजिकिँदै गर्दा उनले अग्रिम रूपमा नेतृत्व पद त्यागेको माओवादी प्रदेश सभाका एक सदस्यले बताएका छन् ।
शर्मालाई मंसिर १८ भित्र दलको सम्पर्कमा फर्कन समन्वय गर्ने जिम्मा प्रमुख सचेतक जिसीलाई दिइएको थियो । उक्त निर्देशन यसअघि बसेको संसदीय दलको बैठकबाट आएको हो ।











