बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि ट्रक र ट्रयाक्टर चालकहरूले धर्ना दिएका छन् । चालकहरूले मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूलाई अनावश्यक रोक्ने र दुस्ख दिने गरेको आरोप लगाएका छन् ।

बुधबार दिउँसोदेखि सुरू भएको धर्नाका कारण पथलैयामा मात्र डेढसयभन्दा बढी गाडी सडकमा रोकिएका छन् । बारा, पर्सा, रौतहट लगायतका जिल्लाका पराल तथा भुस बोकेका गाडीहरू रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । तराईका जिल्लाबाट हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा जस्ता स्थानमा जाने गाडीहरूलाई पनि सडकमा रोकेको छ ।
चालकहरूले ट्राफिक प्रहरीले किसानका उत्पादन बोक्ने सवारीलाई सहुलियत दिने सट्टा दुस्ख दिने गरेको गुनासो गरेका छन् । नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार ट्राफिकले मुख्य सिजनमा गाडी रोक्दा किसानहरू मारमा परिरहेका छन् ।
पथलैया ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालले भने, ‘भब्बर लोड बोकेका गाडीहरूले राजमार्गमा दुर्घटना र क्षति बढाउने भएकाले हामी सक्रिय भएका हौं । पराल र भुस बोकेका गाडीहरू पनि ट्रयाक्टर र ट्रकको मालसामान राख्ने भागभन्दा धेरै माथि सामान राखेर ढुवानी गर्ने हुँदा जोखिम बढिरहेको छ ।’











