
काठमाडौं । अर्थतन्त्रको सुस्तता र धितो असुली नहुँदाको तनावका कारण बैंकहरूले सेयर बजारतर्फ मात्रै आक्रामक रुपमा ऋण विस्तार गर्न थालेका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह गर्न अनिच्छुक देखिएका बैंकहरूले सेयर बजारतर्फ भने सस्तो ब्याजदरमा ऋण दिइरहेका छन् ।
गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ४४.३८ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरूले ४.५ प्रतिशतले सेयर कर्जा प्रवाह बढाएका छन् । बैंकहरूले सेयर बजारतर्फको कर्जा लगानीलाई पछिल्लो समय सहज र सुरक्षित विकल्पका रुपमा लिएका छन् । तर विज्ञहरूले भने सेयर बजारमा गरिएको लगानीले भविष्यमा बैंकलाई जोखिममा पार्न सक्नेतर्फ चेतावनी दिएका छन् ।
हालै मात्र एनआइसी एसिया बैंकले ५० करोड रुपैयाँसम्मको सेयर धितो कर्जामा प्रिमियम बिनै प्रतिस्पर्धी दरमा कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा पाउने उल्लेख गरिएको छ । बैंैकले सेयर धितो कर्जालाई सुरक्षित मानेर पनि यो योजना सार्वजनिक गरेको हो । एनआइसी बाहेक अन्य धेरै बैंकहरूले सेयर लगानीकर्तालाई आकर्षित गर्ने र सेयर कर्जा विस्तार गर्ने यस्तै खाले नीतिहरू अवलम्बन गरिसकेका छन् ।
सेयर बजारलाई प्रभाव पार्ने नीतिहरूलाई केन्द्रीय बैंकले लचक बनाइरहेकाले पनि यस क्षेत्रमा कर्जा प्रवाह सहज भएको बैंकरहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा (साउन–असोज) २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
यी बैंकहरुले आव २०८१–८२ को असोजसम्मसम्म ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ४४.३८ प्रतिशत सेयर धितो कर्जा विस्तार बढाएका हुन् । सेयर धितो कर्जा बढाउनका लागि वाणिज्यमात्र हैन विकास बैंकहरू पनि उस्तै आक्रामक देखिएका छन् ।
साउनदेखि असोजसम्ममा राष्ट्रिय स्तरका आठ विकास बैंकले १७ अर्ब ४० करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । आव २०८१–८२ को सोही अवधिमा यी बैंकहरुले १६ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत आवको तुलनामा चालु आवको तीन महिनासम्ममा अवधिमा बैंकहरुको सेयर धितो कर्जा ४.५ प्रतिशतले बढ्नुको मुख्य कारण नै अन्य क्षेत्रमा कर्जाको माग सुस्त हुनु भएको बैंकरहरू बताउँछन् ।
पछिल्लो समय बैंकहरूको निष्क्रिय कर्जा बढ्दो गतिमा छ । चालु आवको तीन महिनासम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५.०३ प्रतिशत र विकास बैंकहरूकको औसत निष्क्रिय कर्जा ६.०३ प्रतिशत पुगिसकेको छ । यो निष्क्रिय कर्जा अझै बढ्ने अवस्थामा रहेकाले पनि अन्य क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरूले नचाहेका हुन् ।
तर सेयर बजारतर्फको कर्जा पनि त्यति सुरक्षित भने नहुने जानकारहरू बताउँछन् । साथै, बैंकहरूले उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेमा सेयर बजारतर्फ लगानी बढाउँदा पछि समस्या फेरि आउन सक्ने उनीहरूको चेतावनी छ ।
पछिल्लो समय धितो लिलामीमा पनि समस्या आएकाले गैरबैंकिङ सम्पत्ति पनि बढ्दो क्रममा छ । बैंकहरूले यस्तो दवावपूर्ण अवस्थामा लगानी विस्तारका लागि सेयर बजार अहिले बढी सुरक्षित र सहज ठानेका छन् ।
चालु आवको तीन महिनासम्ममा सबैभन्दा धेरै सेयर कर्जा नबिल बैंकले दिएको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे बैंक अगाडि रहेको छ । गत आवको असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा १८ वटा बैंकबाट गएको सेयर कर्जा बढेको छ । एनआईसी एसियाको भने सेयर कर्जा घटेको छ । यद्यपि, अब सेयर कर्जा बढाउनका लागि यस बैंकले नयाँ योजना नै ल्याएको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन ।
चालु आवको असोजसम्म नबिल बैंकले १६ अर्ब २६ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको असोजसम्मको तुलनामा ५८.३८ प्रतिशतले बढी हो । गगत आवको असोजसम्ममा बैंकले १० अर्ब ९६ करोड ४४ लाख रुपैयाँ सेयर कर्जा दिएको थियो ।
गत आवको असोजसम्म १० अर्ब १३ करोड ९८ लाख रुपैयाँ सेयर कर्जा दिएको ग्लोबल आइएमई बैंकले चालु आवको सोही अवधिसम्म १७ प्रतिशतले बढाएर १२ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पु¥याएको छ ।
यस अवधिसम्म सबैभन्दा कम सेयर कर्जा दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने एनआईसी एसियाको कर्जा प्रवाह १६.०७ प्रतिशतले घटेको छ । यता विकास बैंकतर्फ गत आवको असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा ६ वटा विकास बैंकको सेयर धितो कर्जा बढेको छ भने २ वटाको घटेको छ । सर्वाधिक सेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि छ ।
चालु आवको साउनदेखि असोजसम्ममा मुक्तिनाथ विकास बैंकले ३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ६० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सेयर बजारमा लगानीः कत्तिको जोखिम
अल्पकालीन रूपमा आकर्षक देखिने सेयर बजारको लगानी दीर्घकालीन रूपमा भने बैंकहरूको स्थायित्व र समग्र वित्तीय प्रणालीका लागि चुनौती बन्नसक्ने विश्लेषकहरूको भनाइ छ ।
सेयर बजारको उतारचढावका कारण धितोको रूपमा राखिएका सेयरको मूल्य अचानक घटेमा बैंकहरू मार्जिन कलको दवाबमा पर्न सक्छन् । ग्राहकले धितोको मूल्य बराबरी गर्ने रकम थप्न नसक्दा कर्जा असुरक्षित बन्दै जान्छ र डिफल्टको जोखिम बढ्ने जानकारहरू बताउँछन् ।
यस्तै धितो मूल्य घटेपछि बैंकले जबरजस्ती सेयर बिक्री गर्ने परिस्थितिले बजारलाई झनै गिरावटतर्फ धकेल्ने, बैंककै जोखिम दोब्बर बनाउने र वित्तीय प्रणालीमा चाप सिर्जना गर्ने खतरा पनि रहने जानकारहरू बताउँछन् । कर्जा एकै क्षेत्रमा अत्यधिक केन्द्रित हुँदा कन्सन्ट्रेसन जोखिम बढ्ने र कुनै नकारात्मक घटना घटेमा अनेकौं बैंक एकैपटक प्रभावित हुने सम्भावना उच्च हुने उनीहरूको तर्क छ ।
यसबाहेक उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा सेयर बजारलाई वैकल्पिक अवसरका रूपमा लिनु कत्तिको उचित हो भन्ने प्रश्न पनि उठ्न थालेको छ । उद्योग, कृषि, पर्यटन, ऊर्जा जस्ता क्षेत्रहरूमा स्थिर कर्जा प्रवाह हुन नसक्दा आर्थिक गतिविधि झन् कमजोर हुने र दीर्घकालीन वृद्धिदरमा नकारात्मक असर पर्ने जोखिम रहन्छ ।
विश्लेषकका अनुसार उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सेयर बजारजस्ता अस्थीर क्षेत्रमा अत्यधिक कर्जा प्रवाह गर्नु दीर्घकालीन बैंकिङ स्वास्थ्य तथा राष्ट्रको आर्थिक संरचनाका लागि टिकाउ रणनीति मानिँदैन ।











