एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउँदै छन् । बीबीसी हिन्दीका अनुसार पुटिन दिउँसो ४ बजे नयाँ दिल्ली आइपुग्ने कार्यक्रम छ। उनको सम्मानमा दिल्लीले भव्य स्वागतको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर भेटवार्ता तथा दुई देशबीच हुने उच्चस्तरीय सम्मेलनका क्रममा भारत–रुसबीच धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । अमेरिकाले भारतमाथि रुसी तेल खरिद रोक्न दबाब बढाइरहेको बेला यस किसिमका सम्झौताहरू हुन लागेको हो ।
भारत र अमेरिकाबीच हाल सम्बन्ध तन्किएको अवस्थामा यो भ्रमणले थप अन्तर्राष्ट्रिय चासो खिचेको छ। अमेरिकाले भारतीय निर्यात सामाग्रीमा ५० प्रतिशतसम्म कर लगाएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेन युद्ध अन्त्यका लागि रुस र युक्रेनसँग निरन्तर वार्तामा व्यस्त छन् । यस्तै परिस्थितिमा, २०२२ मा युक्रेनसँग युद्ध सुरु भएपछि पहिलोपटक पुटिन भारत आउन लागेका हुन् ।
भोलि पुटिन र मोदीले दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने इन्डिया–रुस बिजनेस सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा सुरक्षा सहयोग, व्यापार विस्तार र विदेशी हस्तक्षेपबाट जोगिने उपायहरूबारे छलफल हुने छैन । भारत र रुसले वर्षेनी आलोपालो गर्दै आउने यो सम्मेलनले दुबै देशबीचको रणनीतिक साझेदारीलाई थप मजबुत पार्ने अपेक्षा गरिएको छ।











