काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अब नौ दिन मात्र बाँकी छ। प्रतिनिधि चयनको प्रक्रिया लगभग सकिएको अवस्थामा नेतृत्वको सर्वाधिक महत्वाकांक्षी दौड अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच तीव्र रूपमा चलिरहेको छ।

महाधिवेशन नजिकिँदै जाँदा दुवै पक्षले आ–आफ्नै शक्तिकेन्द्र मजबुत बनाउने रणनीति अघि बढाएका छन् । ओली विधान संशोधन गरेर दोस्रोपटक अध्यक्ष बन्ने योजना लिएर सक्रिय छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका पोखरेल जेसुकै भएपनि ओलीलाई चुनौती दिने तयारीमा छन् ।
आकांक्षी नेताहरू पनि दुवै समूहतर्फ खुलेर लाग्दै छन् । तर अध्यक्ष ओलीले भने प्रतिस्पर्धा नै नहोस् भन्ने मनसायसहित सम्भावित ध्रुवीकरण रोक्न गुन्डुस्थित निवासमै बसेर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको सूची तयारी गरिरहेका छन् । आकांक्षीहरूलाई समेत “सूची म बनाउँछु” भनेर जानकारी दिइरहेको बताइन्छ।
मंगलबार दिउँसो गण्डकी प्रदेशका केही केन्द्रीय सदस्य ओलीलाई भेट्न गुन्डु पुगेका थिए । उनीहरूले आफू–आफू रहेको पदको आकांक्षा खुलाएर राखे पनि अध्यक्ष ओलीले १०औँ महाधिवेशनजस्तै यसपटक पनि ‘सूची आएपछि त्यहीँअनुसार’ अघि बढ्ने संकेत दिएको एक नेताले बताए ।
ओलीले तयार पार्ने सूचीमै मत हाल्नुपर्ने आग्रह पनि राखेको ती नेताको भनाइ छ । सबैलाई समेट्दै र सबैको भावनाको प्रतिनिधित्व गर्दै सूची तयार पार्छु भनेर अध्यक्षज्यूले भन्नुभयो, सबैले त्यही सूचीमा भोट हाल्नुपर्ने कुरा उहाँले राख्नुभयो ।’ ओलीको भनाइ उदृत गर्दै उनले भने।
अध्यक्ष ओलीमा अहिले आफूलाई मात्र भोट हालेर पदाधिकारीमा अन्यत्र हाल्ने हुन् कि भन्ने भय पनि देखिएको छ । ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘म सूची बनाउँछु, सबैले त्यही सूचीमा मत हाल्ने हो । मलाई मात्र होइन, सबैलाई हाल्ने हो । मलाई मात्रै हाल्ने सोच बनाएको हो भने मलाई पनि हाल्नु पर्दैन ।’
२०७८ मा चितवनको सौराहामा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा ओलीले आफू अध्यक्ष रहने गरी केन्द्रीय कमिटीको सूची हलमा पढेर सुनाएका थिए । त्यो सूचीमा नपरेका भीम रावलले अध्यक्ष पदमा उम्म्दवारी दिएका थिए भने घनश्याम भूसालले उपाध्यक्ष, भीम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेद्वारी दिएका थिए ।
उषाकिरण तिम्सेना, अरविन्द सिंह सहितका केही केन्द्रीय सदस्य बाहेक निर्वाचित÷निर्विरोध हुने नेताहरु ओलीको सूचीमा परेकाहरु नै थिए । यो महाधिवेशन एमालेमा भएको कमजोर लोकतन्त्रको एउटा उदाहरण थियो ।
त्यसबेला पार्टी विभाजनको ताजा मनोविज्ञान भएकाले उक्त शैलीलाई पनि एमाले पंक्तिले स्वीकारेको थियो । तर, अहिलेको परिस्थिति फरक छ । जेनजी आन्दोलन कारण ओली नेतृत्वको सरकार ढलेको थियो । त्यस आन्दोलनले उठाएको ‘नेतृत्व परिवर्तन’को एजेण्डालाई पनि एमालेभित्र जोडतोडले उठिरहेको छ ।
यता, यसको जवाफी तयारी पोखरेल पक्षले पनि तीव्र तयारी गरिरहेको छ । उनीहरू पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको वैकल्पिक प्यानल बनाउने गृहकार्यमा छन् । ओलीले प्यानल नै बन्द गराउने गरी सक्रिय भएपछि पोखरेल समूहले रणनीतिक रूपमा प्यानल घोषणा केही पछाडि सार्नु परेको स्रोतहरू बताउँछन्।
जेनजी आन्दोलनपछि पार्टीभित्र बनेको ‘ओलीविरुद्धको वातावरण’लाई आफ्नो पक्षमा उपयोग गर्न पोखरेल समूह जुटिरहेको छ । ओली समूहभित्रका केही नेताले पनि पोखरेल प्यानल बनेमा ‘एक–दुई पदाधिकारी त पोखरेल समूहबाटै जाने’ स्वीकारेका छन्।
ओलीले विगतमा मदन भण्डारी फाउन्डेसनमार्फत आन्तरिक शक्ति विस्तार गरेका थिए । तर भण्डारीसहित सम्बन्ध चिसिएपछि सो फाउन्डेसनमै पोखरेल समूह प्रभाव बढ्दै गएको देखिन्छ । यति मात्र होइन, प्रचण्ड–माधव समूहमा रहेका ‘१० भाइ’ नेतृत्वसमेत हाल पोखरेलतर्फ झुक्दै गएको बुझिन्छ ।
पोखरेलले केही दिनमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । त्यो घोषणा भएपछि एमालेभित्रको प्रतिस्पर्धा झन् पेचिलो हुने निश्चित छ।











