काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीज्यू आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् ।

काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले विशेष सम्बोधन गर्दै यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस भएको र यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउने बताएकी छन् ।
उनले भनिन्, ‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ । यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ । हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरू हासिल गरेको बताउँदै सम्बन्धित टोल गुठीहरू, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरूको इमानदार प्रयासबाट यो उपलब्धि भएको बताइन् ।
उनले काठमाडौं महानगर क्षेत्रभित्र गुठी संस्थान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्यपूजा, आरती, खटजात्रा, देवीनृत्य लगायत विभिन्न ५०० भन्दा बढी गुठीहरू रहेको उल्लेख गर्दै स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरु र चाडपर्वहरू मनाउन सहयोग पुगिरहेको बताउँदै परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहको मलाई लागेको छ।
संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक रहेको बताएकी छन् ।
उनले भनिन्, ‘नागरिकहरुबीच एकआपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवाहरूलाई प्रोत्साहन गर्न पनि यस्ता सांस्कृतिक अभियानहरूको आवश्यकता छ । यस दिशामा तपाईँहरूले खेलिरहनुभएको भूमिका उल्लेख्य छ । यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्नुपरेको भन्दै मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको बताइन ।
उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सबैको दायित्व भएको बताउँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताइन ।











