Logo
Logo

नवौँ एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु


126
Shares

भक्तपुर । “मित्रता पहिलो, प्रतिस्पर्धा दोस्रो” र “सके जितिन्छ, नसके सिकिन्छ” भन्ने मूल नाराका साथ एभरेस्ट इङ्लिस स्कुल, मिवाछेँ, व्यासी, भक्तपुरको आयोजनामा बिहीबारदेखि नवौँ एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । 

The current image has no alternative text. The file name is: basketball.jpg

प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं.२ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले गरेका हुन् । प्रमुख अतिथि बासुकलाले प्रतियोगिताका मुख्य प्रशिक्षकलाई बास्केटबल हस्तान्तरण गरी औपचारिक रूपमा प्रतियोगिता शुभारम्भ गरेका थिए । 

यो प्रतियोगिता छात्र र छात्रा दुवैतर्फ गरी चार विभिन्न उमेर समूह (क्याटेगोरी) मा सञ्चालन हुनेछ । आयोजकका अनुसार यसपटक काठमाडौं उपत्यकाका २७ विद्यालयबाट कुल ४४ टिम सहभागी छन् भने ५२८ जना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विक्रम संवत् २०७२ देखि निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आएको तर कोभिड-१९ महामारीका कारण दुई वर्ष स्थगित हुन पुगेको जानकारी दिए । उनले खेलबाट विद्यार्थीहरूबीच मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास होस् भन्ने मुख्य उद्देश्य रहेको बताए । 

यस्तै, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेलकुदको विकास र विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व निर्माणमा यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । प्रतियोगिता आगामी मङ्सिर २४ गतेसम्म चल्नेछ । विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्