काठमाडौं । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई कुनै पनि अवरोधबिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन् । अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेको बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ । यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० प्रतिशत पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए । जसमा रूसी तेल र हतियार खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि समावेश थियो । ट्रम्पले युक्रेन विरुद्धको युद्धमा भारतले रुसी तेल र हतियार खरिद गरेर रुसलाई फाइदा पुर्याएको आरोप लगाएका छन् । जुन आरोप भारतले अस्वीकार गरेको छ ।
सन् २०२२ मा युद्ध सुरू हुनुभन्दा अगाडि भारतको रुसबाट तेल आयात मुस्किलले २.५ प्रतिशत थियो । तर, छुट दरमा रुसी तेल खरिद गरेपछि २०२४-२५ मा यो बढेर लगभग ३५.८ प्रतिशत पुगेको छ।











