Logo
Logo

मधेशका मुख्यमन्त्रीले २४ मंसिरमा विश्वासको मत लिने


1.1k
Shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने तयारी गरेका छन् । उनले यहि मंसिर २४ गते बुधबार विश्वासको मत लिने तयारी गरेका हुन्।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।

यही मङ्सिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

उनले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि कांग्रेस दलका नेता यादवलाई गठबन्धनका दलहरुले मुख्यमन्त्रीको रुपमा चयन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्